मंगलवार, आश्विन २५ २०७९
नेपाल वाइड
खोटाङ, २४ असोज । खोटाङमा एउटै वडाका तीन नेताले प्रदेशसभाको टिकट पाएका छन् । आगामी ४ मंसिमा हुने प्रदेशसभा निर्वाचनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका पाँचकर्ण राई (पिके)ले नेकपा एमालेबाट, बीरवलकाजी राईले नेकपा (एकीकृत समाजवादी) र राकेश राईले जनता समाजवादी पार्टीबाट प्रदेशसभा (क)को टिकट पाएका हुन् । एकै वडाका तीन नेताले आइतबार दलवल सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् ।
पाँचकर्ण र राकेश साविकको बुईपा–२ का स्थायी बासिन्दा हुन् भने बीरवलकाजी साविकको बुईपा–१ का हुन् । एकैदाजुभाईभित्रका पाँचकर्ण काका र राकेश साइनोमा भतिजा हुन् । एकैठाउँबाट तीन नेता उम्मेदवार उठेपछि आफन्तकै मत बाँडिने अनुमान गरिएको छ । एकै वडाका तीन नेताले टिकट पाउनुलाई दलहरुले संयोग भनेका छन् ।
उम्मेदवारी दर्तासँगै नेताहरु चुनावी अभियानमा जुटेका छन् । मतदाताको घरमा पुग्ने, चुनावी कार्यक्रम सम्वन्धी योजना बनाउने चटारो सुरु भएको छ । आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ दुई स्वतन्त्र सहित नौ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, प्रदेशसभा (क)मा नौ जना र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको छ ।