Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसकै बिद्रोह

    खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसकै बिद्रोह


    • आइतवार, आश्विन २३ २०७९

    • नेपाल वाइड


    खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसकै बिद्रोह
    गठवन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जाँदै गरेका कांग्रेस नेता तथा कार्यकर्ता ।

    खोटाङ, २३ असोज । खोटाङमा गठबन्धन बिरुद्ध कांग्रेसले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधिसभा माओवादी केन्द्र, प्रदेशसभा (क) नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेताले आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

    गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पुर्वसांसद एबं पुर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा (क)मा पुर्वसभापति सुवासकुमार पोखरेल र उपसभापति धर्मराज पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनीहरुले गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) र प्रदेशसभा ‘क’मा उठेका नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

    गठबन्धनबाट प्रदेशसभा ‘ख’मा उठेका नेपाली कांग्रेसका भूपेन्द्र राई विरुद्ध भने स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छैनन् । यद्यपी, उनीहरुले आफ्नो स्वतन्त्र उम्मेदवारलाई सहयोग गरे मात्र गठबन्धनबाट प्रदेशसभा ‘ख’मा टिकट पाएका भूपेन्द्रलाई सहयोग हुने संकेत गरेका छन् ।

    स्थानीय तहको मतपरिणामको आधारमा एक प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएकाले स्वतन्त्र उम्मेदवारी दिनु परेको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए । गठवन्धन जोगाउने नाममा नेकपा (एस)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट पक्षको दावी छ ।

    रोचक पक्ष त के छ भने प्रदेशसभा ‘क’मा कांग्रेसका असन्तुष्ट पक्षका दुई नेताले एकैक्षेत्रमा मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सँगै पुगेका पोखरेलद्धयले एकैठाउँमा उम्मेदवारी दर्ता गरेको विषयलाई चासोका साथ हेरिएको छ । कतिपयले ‘बागी विरुद्ध अर्को बागी’ उठे/उठाइएको अर्थ लगाइरहेका छन् भने कतिपयले एक जनालाई ‘व्याक’ गर्नेगरी एकैठाउँमा दुई जनाको मनोनयन दर्ता गरिएको अनुमान गरिरहेका छन् । आगामी २६ असोजसम्ममा दुई मध्ये एकलाई ‘व्याक’ गरिने सभापति राईले बताए ।

    केन्द्रको निर्णय अनुसार जिल्लामा गठबन्धनको उम्मेदवार मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको केही समयपछि कांग्रेसको विद्रोही पक्ष मनोनयन दर्ता गर्न पुगेका थिए । गठबन्धन बिरुद्ध गठबन्धन दलकै स्वतन्त्र उम्मेदवारी परेपछि एमालेलाई उत्साहित बनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट बिशाल भट्टराई, प्रदेशसभा ‘क’बाट पाँचकर्ण राई (पिके) र प्रदेशसभा ‘ख’बाट रामप्रसाद दंगालको उम्मेदवारी दर्ता भएको छ ।

    निर्णय सच्याउनका लागि शनिबार कांग्रेस केन्द्रीय समितिलाई ज्ञापन–पत्र बुझाएको टोलीले आइतबार जिल्लामा फर्किए लगत्तै बैठक राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हो ।

    सम्बन्धित समाचार