बिहिवार, आश्विन २० २०७९
नेपाल वाइड
खोटाङ, २० असोज । खोटाङमा आगलागीबाट विस्थापित दुई परिवारलाई राहत प्रदान गरिएको छ । सोमबार दिउँसो भएको आगलागीमा सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका राजन सार्की र उनका छोरा सन्तोष सार्कीलाई नेपाल रेडक्रस सोसाईटी, जिल्ला प्रशासन कार्यालय, उद्योग बाणिज्य संघ र खोटाङ यातायात प्रालिले राहत प्रदान गरेको हो ।
अग्नी पिडितलाई रेडक्रसले दुई थान त्रिपाल, आठ वटा कम्बल, दुई वटा बाल्टिन, दुई सेट भाडासेट, चार थान साडी तथा पेन र कुर्तासुरुवालको कपडा प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालयले दुई परिवारका लागि नगद १५ हजार, खोटाङ उधोग वाणिज्य संघले १० हजार र खोटाङ यातायात प्रालिले १० हजार राहत प्रदान गरेको हो ।
अग्नी पिडितलाई हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई र रेडक्रस सभापति ज्ञानेन्द्र जोशीले घटनास्थलमै पुगेर राहत हस्तान्तरण गरेका छन् । खोटाङ यातायात प्रालिले प्रमुख जिल्ला अधिकारीमार्फत र उधोग वाणिज्य संघले रेडक्रसमार्फत राहत पठाएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले जानकारी दिए ।
नजिकै रहेको गोठबाठ सल्किएको आगोले कार्की बाबुछोराको घर जलेको थियो । आगलागीमा कार्की परिवारको एक तोला सुन, ६० केजी चामल, ७५ हजार वरावरको भाडावर्तन, ५० हजार बराबरको लत्ताकपडा, एक मुरी मकै, तीन मुरी कोदो, १० हजार बराबरको एक थान सोलार प्यानल, एक वटा गाई र एक वटा सुंगुर जल्दा नौ लाख बराबरको क्षति भएको थियो ।
अग्नी पीडित परिवारले हाल आफन्तको घरमा आश्रय लिइरहेका छन् । राहत हस्तान्तरण कार्यक्रममा मेयर राईले अग्नी पीडितलाई नगरकोतर्फबाट जस्तापाता व्यवस्था गरिदिने र आवास निर्माणका लागि प्रदेश र संघीय सरकार समक्ष समन्वय गर्ने आश्वसन दिएकी छन् ।
राहत वितरण कार्यक्रममा डिएसपी मञ्जिल मुकारुङ, शसस्त्र प्रहरी बलका डिएसपी श्याम रावत, वडाध्यक्ष टेकराज राई, रेडक्रस जिल्ला शाखा सदस्य उर्मिलादेबी दाहाल लगायतको उपस्थिति थियो ।