शनिवार, आश्विन १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ असोज । जिल्ला प्रहरी कार्यालय खोटाङले सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा १० वर्ष कैंद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
२०६५ साल जेठ १८ गते केपिलासगढी गाउँपालिका–३ बाँसपानीका ६० वर्षीय धिलु राईलाई धारिलो हतियार प्रहार गरी गरगहना लुटपाट गर्दै कर्तव्य ज्यान गरी फरार रहेका सोही स्थानका नारायण राईलाई प्रहरीले पक्राउ गरेको हो ।
दशैं, तिहार र छठलाई मध्यनजर गर्दै गत असोज १ गतेदखि सुरु गरिएको चाडपर्व विशेष सुरक्षा योजना २०७९ अन्तरगत राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सर्वोच्च अदालतबाट २०७६ साल माघ १९ गते १० वर्ष कैंद सजाय सुनाइएका राईलाई फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँसँगको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । उनी घटनाकै मितिदेखि फरार थिए ।
यस्तै, २०७८ साल फागुन २ गते हलेसी तुवाचुङ नगरपालिका–७ धितुङमा भएको सवारी ज्यान मुद्धामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
चाडपर्व विशेष सुरक्षा योजना अन्तरगत प्रहरीले दिक्तेलको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको, असोज ११ गते इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्नेक्रममा हलेसी एरिया अन्तरगत रातमाटे, गणेशटार र च्यास्मीटारमा अन्दाजी २ हजार ४१० बोट गाँजा फँडानी गरी नष्ट गरिएको जानकारी दिएको छ ।
यस्तै, असोज १२ गते जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रहरी कार्यालय हलेसी, हलेसी तुवाचुङ नगरपालिका, करदाता सेवा कार्यालय लगायतको अनुगमन टोलीले हलेसीबजारका किराना तथा खाद्य पसल अनुगमन गर्नेक्रममा २९ हजार बराबरको म्याद गुज्रिएको बिस्कुट, कोक, जुस लगायतका सामान फेला पारी जफत गरेर नष्ट गरिएको, असोज १ गते यता १५० सवारी साधनलाई कारबाही गरी एक लाख राजस्व असुल गरिएको, दैनिक रुपमा मापसे चाँज गरिँदै आएको जिल्ला प्रहरी कार्यालयको प्रगती विवरणमा उल्लेख छ ।
