Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    पहिचान पक्षधर उम्मेदवारलाई जिताउन अभियान चलाउने यायोक्खाको निर्णय

    पहिचान पक्षधर उम्मेदवारलाई जिताउन अभियान चलाउने यायोक्खाको निर्णय


    • बिहिवार, आश्विन ६ २०७९

    • नेपाल वाइड


    पहिचान पक्षधर उम्मेदवारलाई जिताउन अभियान चलाउने यायोक्खाको निर्णय
    पत्रकार सम्मेलनमा घोषणा–पत्र सार्वजनिक गर्दै यायोक्खाका नवनिर्वाचित अध्यक्ष जमानसेर राई (युगसन किरात) । तस्बिर : राजकुमार भट्टराई

    खोटाङ, ७ असोज । किरात राई यायोक्खा खोटाङले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अपिल गर्ने निर्णय गरेको छ ।

    बुधबार राती दिक्तेलमा सम्पन्न ८ औं जिल्ला अधिबेसनले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अभियान चलाउने घोषणा–पत्र जारी गरेको हो ।

    जिल्ला समन्वय समितिको सभाहलमा बिहिबार पत्रकार सम्मेलनमार्फत घोषणा–पत्र सार्वजनिक गर्दै यायोक्खाका नवनिर्वाचित अध्यक्ष जमानसेर राई (युगसन किरात)ले पहिचानको पक्षमा खुलेर उभिने जुनसकै दलका उम्मेदवारलाई मतदानका लागि आव्हान गर्ने निर्णय गरिएको जानकारी दिए ।

    यायोक्खाले किरात मुन्दुम, भाषा, संस्कार, संस्कृति, परम्परा र इतिहासका जानकार नक्छो/नछुङ/कुवि/मपा, होसुङ, पासु सबुहरुको सम्मान र संरक्षण गर्ने, स्थानीय सरकारसँगको समन्वय वा अन्य अक्षय कोषको मध्यमबाट उनीहरुका लागि सेवा सुविधाको व्यवस्था मिलाउने, अध्ययन अनुसन्धानका लागि उत्प्रेरित गर्ने/गराइने घोषणा–पत्रमा उल्लेख गरेको छ ।

    यस्तै, किरात राईको भाषा, संस्कृति, परम्परा तथा पहिचानजनित स्थान गढी, साकेला, गौंडा, ठाँटी, चौतरा जस्ता ठाउँको संरक्षण गर्ने कार्यलाई प्राथमिकता दिने, प्रदेश १ लाई किरात प्रदेश नामाकरणका लागि जनदवाव सिर्जना गर्ने, किरात राईको सांस्कृतिक कला, साहित्य, भेषभूषा, खानपानको संरक्षण, संवद्र्धन र विकास गर्दै/गराउदै पर्यटनसँग जोड्न भूमिका निर्वाह गर्ने नवनिर्वाचित अध्यक्ष किरातले बताए ।

    घोषणा–पत्रमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरी किरात राई समुदायलाई अधिकतम सरकारी सेवामा प्रवेश गर्ने वातावरण सिर्जना गर्ने, किरात राईको सांस्कृति मूल्य मान्यताका आधारमा व्यवस्थित भवन निर्माण गर्ने, किरात राईका बालबच्चाको नाम आफ्नो मातृ भाषाबाट राख्ने अभियान सञ्चालन गर्ने, ‘एक घर एक सदस्यता’ वितरण अभियान सञ्चालन गर्ने उल्लेख छ ।

    यस्तै, किरात राईको बाहुल्यता रहेको स्थानका विद्यालयमा सोही भाषामा अध्ययन/अध्यापन गर्न/गराउन पहल गर्ने, मातृ भाषामै मावि तहसम्मको पठन–पाठनका लागि आधार तय गर्ने, यायोक्खालाई आत्मनिर्भर बनाउनका लागि आर्थिक श्रोत पहिचान गरि विभिन्न कोष तथा कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष किरातले जानकारी दिए ।

    आर्थिक तथा सामाजिक रुपमा पिछडिएका किरात राईको आर्थिक तथा सामाजिक जीवनमा रुपान्तरण ल्याउन स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै दक्ष जनशक्ति उत्पादन हुने खालका शीप तालिमहरुको आयोजना गर्न प्रयत्न गर्ने, आदिवासी जनजातिको हक, अधिकारको स्थापना गर्ने कार्यमा सहभागिता जनाउँदै गोलबन्द हुने, लैनसिं बाङ्देलको प्रतिमालाई उपयुक्त स्थानमा स्थापनासँगै स्मृति पार्क निर्माण गर्ने, सबै राईलाई थरमा ‘राई’ लेख्न/लेखाउन उत्प्रेरित गर्ने घोषणा–पत्रमा उल्लेख छ ।

    सम्बन्धित समाचार