आइतवार, आश्विन २ २०७९
नेपाल वाइड
खोटाङ, २ असोज । खोटाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समयमै लक्षण पहिचान गर्न सके आत्महत्या रोक्न सकिने बताएका छन् । बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार जिल्ला प्रहरी कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सबै आत्महत्या रोक्न नसकिए पनि समयमै लक्षणहरु पहिचान गर्न सके आत्महत्या रोकथाम गर्न सकिने बताएका हुन् ।
जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रममा जिल्ला अस्पतालका डा. नितु लामाले पटक–पटक आत्महत्याको विषयमा कुरा गर्ने मानिसले आत्महत्या गर्नसक्ने हुँदा त्यस्तो कुरा गर्ने साथीभाई, आफन्त, छिमेकीलाई समयमै सम्झाई बुझाई गर्नुपर्ने बताएकी छन् ।
‘प्रायः मानसिक रोग भएका मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको हुँदा आफ्नो टोल छिमेकमा त्यस्ता बिरामी देखिएमा उपचारका लागि पठाउनु पर्छ,’ डा. लामाले भनिन्, ‘आत्महत्या समस्याको समाधा होईन, समस्याको सुरुवात हो भनेर बुझाउन सक्नुपर्छ ।’
यस्तै, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक रामबालक रायले आत्महत्या गराउन सकने तरिका र पहुँच घटाउनुपर्नेमा जोड दिएका छन् । कीटनाशक, लागुपदार्थ, घरेलु हतियार, डोरी लगायतको पहुँचबाट मानसिक बिरामीलाई टाढा राख्नुपर्ने प्रहरी निरिक्षक रायको सुझाव छ ।
‘डिप्रेसन, मद्यपान र सिजोफ्रेनिया जस्ता मानसिक समस्या भएका बिरामीको उपचार गर्ने । पूर्णरुपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापि र औषधिद्धारा उपचार गर्नुपर्छ,’ प्रहरी निरिक्षक रायले भने, ‘आफैमा परिवर्तन, परिवारको मायाँ र समाजको साथले एउटा मानिसलाई मृत्युको मुखबाट हटाउन सक्छ र समाजमा आत्महत्या दर घटाउन सकिन्छ ।’
खोटाङमा आत्महत्या दर बढ्दोक्रममा देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ६७ जना, आर्थिक वर्ष २०७८/०७९ मा ६७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
आर्थिक वर्ष २०७९/०८० मा ९ जनाले आत्महत्या गरेको प्रहरी निरिक्षक रायले बताए । जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आत्महत्या दर बढि देखिएको छ । सबैभन्दा कम जन्तेढुंगा, बराहपोखरी, केपिलासगढी र साकेला गाउँपालिकामा आत्महत्या दर कम देखिएको रायले बताए ।
दिवसको अवसरमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्वन्धी सचेतनामुलक र्याली निकालिएको थियो । प्रमुख जिल्ला अधिकारी सर्यप्रसाद सेढाईको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, डिएसपी मञ्जिल मुकारुङ लगायतको उपस्थिति रहेको थियो ।