मंगलवार, भाद्र २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) खोटाङले प्रत्यक्षमा पुर्वसांसद टंक राई सहित चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि प्रत्यक्षमा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राईको नाम सिफारिस गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
समानुपातिकतर्फ प्रदेश समिति सदस्य टंकनाथ तामाङ र परशुराम विश्वकर्माको नाम सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डे (आकाश)ले जानकारी दिए ।
जिल्ला समन्वय समितिको आयोजनामा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताको उपस्थितिमा सोमबार र मंगलबार भएको बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
माओवादी केन्द्रले प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ जीवन राई (संगिन), हस्तबहादुर राई (आमोद), बिकास राई र सिताराम अधिकारीलाई सिफारिस गरेको छ ।
यस्तै, समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस भएका छन् ।
यस्तै, प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी (धिरन), देवान चाम्लिङ (पृथ्वी) र दीपक पाण्डे (आकाश)को नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ (सोनीया), विनिता राई (सुशील), डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।