सोमवार, भाद्र २० २०७९
नेपाल वाइड
खोटाङ, २० भदौ । सहमतीपछि नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिक नबिन्द्र राईको शव आफन्तले बुझेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा लामो समय चलेको छलफलमा मृतक परिवारलाई विद्युत दुर्घटना क्षतिपुर्ती विनियमावली २०६७ बमोजिम अधिकतम क्षतिपुर्ती उपलव्ध गराउने र मृतककी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्ने सहमतीमा आफन्तले शव बुझेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेको रोहबरमा मृतकका बुवा बलबहादुर राई रविधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीबीच मृतक परिवारलाई क्षतिपुर्ती र रोजगारी उपलव्ध गराउन लिखित सहमती भएको हो । सहमतीपछि जिल्ला अस्पतालमा पोष्टमार्टम गरेर अपराह्न ४ बजे आफन्तले शव लिएर फर्किएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भ¥याङ ठड्याएर हिँड्नेक्रममा भ¥याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको हो । करेन्ट लागेपछि गम्भीर घाईते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
नेपाल विद्युत प्राधिकरण र स्वयं प्राविधिकको हेलचक्र्याईका कारण खोटाङमा विभिन्न समयमा दैनिक ज्यालादारी प्राविधिकलाई करेन्ट लागेर ज्यान गुमाउनु परेको पाइएको छ ।
सुरक्षा सामग्रीको प्रयोग नगर्दा तथा व्यक्तिगत सुरक्षा सम्वन्धी सावधानी नअपनाउँदा जिल्लामा विद्युत मर्मतका क्रममा २०६९ साल यता नेपाल विधुत प्राधिकरणमा कार्यरत तीन दैनिक ज्यालादारी मजदुरले ज्यान गुमाएका छन् भने एक जना अंगभंग भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लाग्दा २०६९ जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका शम्भु आचार्यको मृत्यु भएको थियो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको कामीडाँडामा विद्युत मर्मतका क्रममा २०७० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका सन्तोष राईको मृत्यु भएको थियो ।
यस्तै, २०७१ साल चैत १६ गते विद्युत मर्मतका क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरि ढुंगाना अंगभंग भएर अशक्त जीवन विताइरहेका छन् ।