मंगलवार, श्रावण २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा पहिरो जाँदा एक करोड ५० लाखको क्षती भएको अनुमान गरिएको छ ।
गत २१ साउनको राती गएको पहिरोले साल, सल्ला र बाँस भएको वन, बारी, खरबारी, सडक लगायत बगाउँदा डेढ करोड बराबरको क्षती भएको अनुमान गरिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।
करिब चार सय मिटर चौडाईमा फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरो गाउँको ठीक अर्को पाटोमा पर्ने भएकाले मानवीय क्षती भने भएको छैन ।
पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको ११ घर पहिरोको उच्च जोखिममा परेको छ । स्थानीय जनकल्याण आधारभुत विद्यालय समेत जोखिममा परेको छ ।
पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ । पहिरो गएको ठाउँमा भिरालो भिर निस्किएको छ ।
मानव तथा गाईवस्तुलाई भिरबाट जोगाउन पहिरोको शिरमा दुई सय मिटर क्षेत्रमा तारजालीको घेराबारा हाल्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । केही मुनिबाट सुरु भएको अर्को पहिरोले समेत माझगाउँलाई जोखिममा पारेको छ ।