आइतवार, श्रावण २२ २०७९
नेपाल वाइड
खोटाङ, २२ साउन । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर गएको ५ मेग्नेच्युडको भूकम्पको क्षती आँकलन सर्भेक्षण सुरु गरिएको छ ।
गत १५ साउनमा गएको भूकम्पका कारण पुगेको क्षतीको विवरण संकलनका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षती आँकलन सर्भेक्षण सुरु गरेको हो ।
भूकम्पको इपिसेन्टर मात्तिमविर्ता बाहेकका प्रभाव क्षेत्र छुट्याउने, बढी क्षती भएका र कम क्षती भएका घरको संरचना बारे अध्ययन गर्ने, क्षती पुगेका घरको ‘रि–कन्ट्रकसन र रिकभरी’ लगायतका बारेमा अध्ययन गर्दै क्षती आँकलन सर्भेक्षण सुरु गरिएको राष्ट्रिय आवास तथा वस्ती उत्थानशिल समन्वय मञ्चका इन्जिनियर प्रकाश बस्नेतले बताए ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट क्षती आँकलन सर्भेक्षण सुरु गरेको हो ।
भूकम्पको इपिसेन्टर साकेला गाउँपालिकामा क्षती आँकलन सर्भेक्षणका लागि आइतबार प्राविधिक सहितको टोली पुग्ने जनाइएको छ । टोलीले हलेसी तुवाचुङ नगरपालिकामा पनि भूकम्पको क्षती आँकलन सर्भेक्षण गर्नेछन् ।
टोलीले तयार पारेको प्रतिबेदनका आधारमा सरकारले भूकम्पीय पुःननिर्माणको सन्दर्भमा निर्णय गर्ने इन्जिनियर बस्नेतले बताए । करिब १० दिनमा भूकम्पको क्षती आँकलन सर्भेक्षणको काम सकिने प्राधिकरणले जनाएको छ ।
क्षती आँकलन सर्भेक्षणका लागि आएको टोलीले भूकम्पको क्षतीका विषयमा आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि तथा दलका नेतासँग छलफल गरेको छ । छलफल कार्यक्रममा नगरका १५ वडामध्ये उपलव्ध वडाध्यक्षले भूकम्पका कारण भएका क्षतीको विवरण प्रस्तुत गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा दुई घर बस्नै नहुने अवस्थामा पुगेको, केही मन्दीर तथा भवन चर्केको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा २६ घर चर्किएको विवरण प्राप्त भएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा १३ जनाको आवेदन आएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा दुई सयको आवेदन परेको जानकारी दिइएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा ११ घर, तीन विद्यालय र एक मण्डलीमा क्षती पुगेको मुचुल्का तयार पारिएको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा आवेदन संकलन भइरहेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा ३५ जनाको आवेदन परेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा ४८ जनाको आवेदन गरेको, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा २७ जनाको घर चर्किएको जानकारी दिइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा १३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ५२ जनाको घरमा क्षती पुगेको वडाध्यक्षहरुले जानकारी दिएका छन् ।