Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्षको दवाव

    कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्षको दवाव


    • शनिवार, श्रावण २१ २०७९

    • नेपाल वाइड


    कालोपत्रे चाँडो गर्न गाउँपालिका अध्यक्षको दवाव
    कालोपत्रेको काम अलपत्र परेको महुरे–फोक्सिङटार सडक ।

    खोटाङ, २१ साउन । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दवाव दिएका छन् ।

    उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तिव्र गतिमा गर्न दवाव दिएका हुन् ।

    शनिबार काठ्माडौंमा भएको भेटमा अधिकारीले अभिलम्व कालोपत्रेको काम अघि बढाउने र चाँडो काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिका अध्यक्ष राईले सडक कालोपत्रेका क्रममा कामदारले लामो समयसम्म भुक्तानी नपाएको विषयमा पनि प्रश्न उठाएका थिए ।

    २०७७ साल असारमा पुरा गर्नेगरी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सडक कालोपत्रेको काम अलपत्र छ ।

    महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ ।

    भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगती देखिएको छ ।

    यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगती भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने शर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो ।

    निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे भइसक्नुपर्ने बेला सडकमा वर्षामा हिलाम्मे र हिउँदमा बुङबुङ धुलो उँड्ने गरेको छ । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लाबासीले सास्ती खेप्नु परेको छ ।

    सम्बन्धित समाचार