Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    देबीको हत्या भएको पाँच वर्ष बित्यो, दोषी भेटिएन

    देबीको हत्या भएको पाँच वर्ष बित्यो, दोषी भेटिएन


    • बिहिवार, श्रावण ५ २०७९

    • नेपाल वाइड


    देबीको हत्या भएको पाँच वर्ष बित्यो, दोषी भेटिएन
    देबी बिक, हत्या गरिएको श्रीमती ज्ञानीमायाँको तस्बिर देखाउँदै डिकबहादुर बिश्वकर्मा, विभत्स अवस्थामा भेटिएकी युवती रिता तामाङ ।

    खोटाङ, ५ साउन । खोटाङको जन्तेढुंगा गाउँपालिलका–६ दिप्लुङकी देवी बिक (३७) को सहस्यमय हत्या भएको पाँच वर्ष पुग्दा समेत दोषी पत्ता लाग्न सकेको छैन ।

    माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट ४ साउन २०७४ मा घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी देबी भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

    उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको र टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको छ ।

    जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा पिडित परिवार त्रसित छन् भने दोषीको मनोवल बढाउन टेवा पुगिरहेको इन्सेक प्रतिनिधि तारानाथ फुयाँल बताउँछन् ।

    ‘घट्नामा कसको संलग्नता थियो, घट्नाको कारण के थियो’ भन्ने प्रश्नको जवाफ अझै गर्भमै छ । लामो समय बित्दा समेत दोषी पहिचान नहुँदा देबीको हत्या थप रहस्यमय बनेको छ । “अझैसम्म पनि हत्यारा पत्ता नलाग्न नसक्नु दुःखद पक्ष हो,” स्थानीय युवा नेता जगत किरातीले भने, “आशा छ कुनै दिन दोषीहरु कानूनको कठघरामा उभिने नै छ ।”

    यस्तै, २६ माघ २०७३ मा विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ (१७) र धारिलो हतियार प्रयोग गरेर हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ बिश्वकर्मा (५७)को हत्यामा संलग्न दोषी समेत हालसम्म गुमनाम छन् ।

    ६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घट्ना प्रकृति उस्तैउस्तै देखिन्छ । तर, तीन वटै महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन ।

    घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै जिल्लाका बिभिन्न अधिकार सम्वन्धी सार्वजनिक कार्यक्रममा प्रहरीको आलोचना हुने गरेको छ । हत्याको विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको प्रहरीको जवाफ छ ।

    प्रहरीको इन्भेस्टीगेसन टिमको अनुसन्धानबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई बताउँछिन् । “अपराध अनुसन्धानमा नेपाल प्रहरीले अन्र्तराष्ट्रिय छवी बनाएको छ,” मेयर राईले भनिन्, “तर तीन वटै महिलाको हत्यामा संलग्नको पहिचान हुन नसक्नु अत्यान्तै दुःखदायी कुरा हो ।”

    होटलमा काम गर्दैआएकी रिता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो ।

    टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरिएको स्थानीयको दाबी छ । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

    यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो । हलेसीमन्दीरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमा उनको खुकुरी प्रहार गरेर हत्या भएको थियो ।

    ज्ञानीमायाँको शव घाँटीको पछिल्लो भाग, देब्रे स्तन लगायतका ठाउँमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा भेटिएको थियो । ज्ञानीमायाँको हत्या भएको मिति पर सर्दै गए पनि श्रीमान डिकबहादुर बिश्वकर्माले न्यायको आशा मारेका छैनन् ।

    “मेरो बुढीलाई आकाशबाट चट्याङ खसेर मारेको होईन, पत्तालबाट निक्लिएर मारेको पनि होईन । यही वरपरका मान्छेले मारेका हुन्,” उनले भने, “मार्ने मान्छे भेट्न पाए मेरो आत्मालाई पनि सित्तल, मेरो बुढीको आत्मालाई पनि सित्तल । चौकीमा जाँदै भनिरहेको छु । भन्नु मात्रै हो । हत्यारा भेटियोस्, मेरो माग यत्ती हो ।”

    सम्बन्धित समाचार