आइतवार, श्रावण १ २०७९
नेपाल वाइड
खोटाङ, १ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्यबहादुर कार्कीले साउने संक्रान्तीमा मासुसँग पिउनका लागि शनिबार दिउँसो दिक्तेलबजारबाट सवा दुई लिटरको जम्बो ड्यु किनेर लगे ।
मासु पाकेपछि १३ वर्षकी छोरीले ड्युको बोत्तल खोलिन् । बोत्तलको बिर्को खोले लगत्तै ‘पेट्रोलको गन्ध आएको’ बताईन् तर सुर्यबहादुरले छोरीको वास्ता गरेनन् । ड्यु गिलासमा खन्याएर खानका लागि तयार गरियो । उनकी छोरीले ‘गन्हायो’ भनेर ड्यु पिइनन् । स्वयं सुर्यबहादुरलाई पनि पेट्रोलजस्तो गन्धले ड्यु रुचेन ।
अलि बढी ड्यु पिएकी श्रीमतीको पेट पोलेको सुर्यबहादुर बताउँछन् । “हामी नियमित ड्यु पिइरहन्छौँ । संक्रान्तीमा मासुसँगै खाने भनेर ड्यु लिएर गएको थिएँ । छोरीले बोत्तल खोल्दा पेट्रोल गन्हायो भनिन् । मैले वस्ता गरिनँ । गिलासमा खान तयार पारियो,” सुर्यबहादुरले भने, “छोरीले गन्हायो भनेर खाइनन् । मैले पनि चाखेँ मात्र । श्रीमतीले अलि बढी खाईन् । उसलाई पेटमा समस्या भयो । गन्ध आउँदाआउँदै नखान पथ्र्यो । स्वास्थ्यमा समस्या होला की भनेर तनाव भयो ।”
यस्तै, बालबच्चाले ड्युको चाहा राखेकाले खाल्लेकै सरस्वती कार्कीले पनि शनिबार सुर्यबहादुरसँगै एक बोत्तल ड्यु किनेर लगिन् । बेलुका छोराले ड्युको शिल तोड्दा ‘डिजेल गन्हायो’ भने । गन्हाउँदा गन्हाउँदै अलि बढी ड्यु पिउने बच्चाको पेट पोलेको सरस्वती बताउँछिन् । “छोरालाई तैंले डिजेल छोएर आएको होला भनेँ,” सरस्वतीले भनिन्, “बच्चाले बढी खाँदा पेट पोल्यो भन्यो । पानी पिउन लगाएँ । बाँकी ड्यु बोत्तलमै छ ।” सुर्यबहादुर र सरस्वतीले दिक्तेलबजारको एउटै पशलबाट तीन बोत्तल ड्यु खरिद गरेका थिए । छिमेकी सावित्रा कट्वाललाई लगिदिएको एक बोत्तल ड्युमा भने कुनै समस्या नदेखिएको स्थानीय बताउँछन् ।
बरुण बेभरेज नेपाल प्रालि, काठ्माडौंले उत्पादन गरेको माउण्टेन ड्युको बोत्तलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । दुबै बोत्तलको पिँध अन्य बोत्तलको भन्दा फरक देखिन्छ । बोत्तलको पिँधमा फुल्न लागेजस्तो, कुच्चिए जस्तो र चर्किएजस्तो देखिन्छ । स्थानीयले ड्युमा पेट्रोलजस्तो गन्ध आएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो ।
ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोत्तल ड्यु जफत गरेको छ ।
प्रहरीसहित पुगेको टोलीले ड्यु खरिद गरिएको पशल तथा ड्युको दिक्तेलस्थित डिलरमा पुगेर निरिक्षण गर्दै ल्याव टेष्टका लागि नमूना संकलन गरेको छ । ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् । यस बारेमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले पनि चासो दिएका छन् ।
ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जालमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालन ग्राहक भेट्न पुगेका थिए । स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो ।
ड्युमा मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय दावी गर्छन् भने ड्युको डिलर प्रतिनिधि ‘ब्लेम’ लगाएको दावी गरिरहेका छन् । माउण्टेन ड्युका दिक्तेल डिलरका सेल्समेन दिपक खतिवडाले कम्पनीको त्रुटी नभएको दावी गरे । “त्यही डेटको अरु ड्यु चेक गर्दा समस्या देखिएन । दुई बोत्तलमा मात्र समस्या देखिएको छ ।
ड्युको शिल उहाँहरुले नै तोड्नु भएको हो,” बस्नेतले भने, “दुई बोत्तलको आधारले मात्र ड्युमा पेट्रोल मिसिएको मान्न सकिन्न । षडयन्त्र गरिएको पनि हुनसक्छ ।” २८ असारमा दिक्तेलकै एक पशलमा पेट्रोलको गन्ध आउने ड्यु पिएको खाल्लेकै रामबहादुर बुढाथोकीले बताए । पेट्रोलको गन्ध आएपछि लसुन खाएर हिँडेको बुढाथोकी बताउँछन् ।
“पेट्रोल गन्हाउने ड्यु भनेर व्यपारीलाई भन्यौं । व्यपारीले डिलरलाई भन्यो,” बुढाथोकीले भने, “डिलरले कम्पनीलाई खबर गर्ने भनेको थियो । भन्यो की भनेन थाहा भएन । यो कुरा बाहिन नलैजान भनियो ।”



