Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    अक्सिजन प्लान्टको ट्रस कमसल बनेपछि रकम कटाएर भुक्तानी

    अक्सिजन प्लान्टको ट्रस कमसल बनेपछि रकम कटाएर भुक्तानी


    • बिहिवार, आषाढ ३० २०७९

    • नेपाल वाइड


    अक्सिजन प्लान्टको ट्रस कमसल बनेपछि रकम कटाएर भुक्तानी
    जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट । तस्बीर: दमन राई

    खोटाङ, २९ असार । जिल्ला अस्पताल खोटाङमा कमसल तरिकाले अक्सिजन प्लान्टको ट्रस बनाइएको भन्दै रकम कटाएर भुक्तानी गरिएको छ । प्रदेश सरकारको १ करोड ११ लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस कच्चा बनेको पाइएपछि १० लाख बाँकी राखेर अन्य भुक्तानी दिइएको हो ।

    ट्रस भवन निर्माणका क्रममा लाग्ने अनुमानित रकम बराबर रोक्का राखेर १ करोड १ लाख रकम २४ असारमा भुक्तानी दिइएको अस्पतालका आर्थिक अधिकार प्रमुख विमलदेव यादवले बताए ।

    जिल्लामै अक्सिजन उत्पादनका लागि जडान गरिएका उपकरण जडान सही देखिए पनि ट्रस भने कमसल बनेको भन्दै सर्वत्र बिरोध सुरु भएको थियो ।

    अक्सिजन प्लान्टजस्तो महत्वपुर्ण उपकरण रहने ट्रस ‘क्वालिटी’को नबनेपछि १० लाख बाँकी राखेर अरु भुक्तानी दिन लगाइएको जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताए ।

    भुक्तानी रोकिएपछि मुन रक्स इन्टरनेशनल प्रालिले जस्ता फेर्ने, पर्खाल प्लाष्टर गर्ने लगायतका काम सुरु गरेको छ । अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि २४ असारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, जिल्ला समन्वय समिति सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राई लगायतको टोलीले निरिक्षण गरेको थियो ।

    oxygen plant_(payment)_khotang1.JPG

    जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट । 

    अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेशनलले ठेक्का पारेको हो । निरिक्षणका क्रममा अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको पाइएको थियो ।

    यस्तै, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लाष्टिकको डोरीले बाँधेको देखिएको मेयर भट्टराईले बताए ।

    जिल्ला अस्पतालको निर्माणाधिन भवनको निर्माण सामग्री ओसार पसारका क्रममा ओहोर दोहोर गर्ने हेभीवेट गाडीको थर्कनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा पनि उत्तिकै छ ।

    अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले आवाज नउठाएका होइनन् तर निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको मोहनप्रसाद आचार्यले बताए । मुन रक्स इन्टरनेशनल प्रालिका सञ्चालक अशोक धमलाले भने ट्रस बनाउने डिजाइन नभएको दावी गरे ।

    सम्बन्धित समाचार