Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    ‘माटो जोगाऔं’ अभियान लिएर दौड सुरु गरेका पुनको यात्रा खोटाङ पुग्यो

    ‘माटो जोगाऔं’ अभियान लिएर दौड सुरु गरेका पुनको यात्रा खोटाङ पुग्यो


    • सोमवार, आषाढ २७ २०७९

    • नेपाल वाइड


    ‘माटो जोगाऔं’ अभियान लिएर दौड सुरु गरेका पुनको यात्रा खोटाङ पुग्यो
    ‘माटो जोगाऔं’ कार्यक्रम उद्घाटन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई ।

    खोटाङ, २७ असार । ‘माटो जोगाऔं’ अभियान लिएर देशव्यापी दौड सुरु गरेका यमबहादुर चोचाङ्खी पुन (नबीन पुन)को यात्रा खोटाङ पुगेको छ ।

    बिग्रँदै गएको माटोको अवस्थालाई जोगाउनका लागि नागरिकलाई शिक्षित गर्ने लक्ष्यकासाथ नेपालका ७७ जिल्ला पुग्नेगरी ३ हजार ५ सय किलोमिटर दौड सुरु गरेका पुनको यात्रा सोमबार दिक्तेल पुगेको हो ।

    नेपालभर जनचेतनामुलक र सामुदायीक चेतनामुलक कार्यक्रम गर्ने लक्ष्यका साथ धावक पुनले गत ३० जेठमा काठ्माडौं टुँडिखेलबाट अभियानमुलक दौड सुरु गरेका थिए ।

    भोजपुरको सिमाना चख्वाभञ्ज्याङबाट सुरु भएको पुनको खोटाङ यात्रा ओखलढुंगाको सिमाना जयरामघाट पुगेर टुंगिने छ । पुनको यात्रा काठ्माडौंबाट तराई हुँदै पुर्वी सिमाना पुगेर माथिल्लो पहाडी क्षेत्रका जिल्ला हुँदै खोटाङ पुगेको हो ।

    करिब ७५ दिनमा पुरा हुने पुनको दौडको क्रममा सोमबार दिक्तेलमा जिल्ला समन्वय समितिको सभाहलमा ‘माटो जोगाऔं’ सचेतनामुलक कार्यक्रम गरिएको छ ।

    शिक्षिका सीता थुलुङ राई, सामाजिक अभियान्ता इन्द्र कसजु लगायतको समन्वयमा सचेतनामुलक ‘माटो जोगाऔं’ कार्यक्रम गरिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले ‘सेभ सोइल’ लेखिएको सेतो व्यानरमा हातले हिलो माटोको छाप लगाएर कार्यक्रम उद्घाटन गरेका थिए ।

    जिल्ला समन्वय समिति, नगरपालिका, शुभम फाउण्डेसन र नेपाल सितोरियो कराते संघको सहयोगमा दिक्तेलमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा दलका नेता, जनप्रतिनिधि, सरकारी कार्यालय र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजिवी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

    नागरिकलाई माटोको बिग्रदो अवस्थाका बारेमा जानकारी दिएर समस्य हल गर्दै माटो जोगाउने बिश्वव्यापी अभियानमा लाग्न उत्प्रेरित गर्न दौड अभियान थालिएको पुनले बताए ।

    कार्यक्रममा बिश्वको ५२ प्रतिशत खेतीयोग्य माटो विनास भइसकेको, संसारभरीको माटोले अवको ६० वर्षसम्म मात्र बाली उव्जाउन सक्ने लगायतका विषयमा चर्चा गरिएको छ ।

    संयुक्त राष्ट्र संघको मरुभुमीकरण र खडेरी बिरुद्ध संघर्ष अधिबेसन संस्थाको तथ्यांक अनुसार हरेक सेकेण्ड एक एडक खेतीयोग्य माटो मरुभूमी बनिरहेको अवस्थामा पुनले दौडमार्फत ‘माटो जोगाऔं’ अभियान सुरु गरेका हुन् ।

    दौडेर यात्रा गरिरहेका पुनलाई ‘माटो जोगाऔं’का अभियानकर्मी निर्मल श्रेष्ठ, सनम लिम्बु र अजय भण्डारीले साथ दिइरहेका छन् । श्रेष्ठ, लिम्बु र भण्डारी गाडीमा यात्रा गरिरहँदा पुन भने पैदल कुदिरहेका छन् । दौडको दौरान विभिन्न जिल्लामा जनचेतना र सामुदायीक सचेतनाका कार्यक्रम सञ्चालन गर्नेगरिएको अभियानकर्मी श्रेष्ठले बताए ।

    ‘माटो जोगाऔं’ अभियान भारतका सदगुरु जग्गीबासुदेवले सुरु गरेका हुन् । हाल बिश्वका विभिन्न देशमा सञ्चालन भइरहेको अभियान नेपालमा पनि स्वयंसेबी रुपमा सञ्चालन भइरहेको छ ।

    ‘माटो जोगाऔं’ अभियान काठ्माडौं केन्द्रित भइरहेको अवस्थामा पर्वत घर भएका पुनले भने ३ हजार ५ सय किलोमिटर दौड सुरु गरेका हुन् ।

    सम्बन्धित समाचार