शुक्रवार, आषाढ २४ २०७९
नेपाल वाइड
खोटाङ, २४ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अव्यवस्थित तरिकाले ठाडो खोल्सीमा फोहोरमैला फालिरहेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित देउले सामुदायीक वनमा लगेर सिधै खोल्सीमा फोहोरमैला मिल्काइएको पाइएको हो ।
फोहोरमैला सिधै खोल्सीमा मिल्काउँदा सोभन्दा मुनिका खोला तथा पानीका मुहान प्रदूषित बनाइरहेको देउले सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष घिमिरेले बताए ।
‘फोहोरलाई मोहर’ बनाउँदै स्वच्छ, सफा र सुन्दर नगरको नारासहित नगरपालिकाले दिक्तेलबजारमा उत्पादित फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको थियो ।
दिक्तेलबजारबाट उत्पादित फोहोरमैला १८ साउन २०७४ देखि १२ किलोमिटर टाढा रहेको देउले सामुदायिक वनमा लगेर मिल्काउन थालिएको थियो । सामुदायीक वनमा हाल डिलबाट सिधै खोल्सा उँदो फोहोर फाल्ने गरिएको छ ।
पर्यवरणमा पुग्ने क्षतीको आँकलन नगरी खोल्सामा थुपारिएको फोहोरमैलालाई वर्षाको भलपानीले बगाएर तल्लो बस्तीतिर झारिरहेको देखिन्छ ।
चारैतिर पहिरो गएर बनेको खोल्सीको खोँचको पुछारमा ग्याविन वाल हालेर फोहोरमैला मिल्काउने शर्तमा जग्गा दिइएको भए पनि पर्खाल नहाली फोहोर फाल्न थालिएको अध्यक्ष घिमिरेले बताए । नगरपालिकाले तोकिएको स्थानभन्दा नजिकै अर्को खोल्सामा पनि फोहोर फालिरहेको छ ।
“तल ग्याविन वाल हालेर पानी निकास नजानेगरी ल्याण्डफिल साइट बनाउन दिइएको हो । तर जथाभावी फोहोरमैला फाल्ने काम भएको छ,” घिमिरेले भने, “फोहोर साप्सु खोलामा मिसिएको छ । डम्पिङसाइट जाने बाटोको स्तरोन्नती गर्नमा नगरको ध्यान गएको छैन ।”
हाल दिक्तेलबजारबाट खाल्ले हुँदै डम्पिङ साइट पुग्ने कच्ची सडक बनेको छ । यसबाहेक लफ्याङ हुँदै डम्पिङ साइटसम्म पुग्ने अर्को बाटो बनाउने सहमती नगरपालिकाले पुरा नगरेको स्थानीय बताउँछन् ।
भएका कच्ची सडक स्तरोन्नती नहुँदा कतिपय गाडीले बाटैमा फोहोर फालेर फर्कने गरेको स्थानीय प्रेम श्रेष्ठले बताए । शिशाका टुक्रा जथाभावी मिल्काउँदा गोठालो र घाँसदाउरा गर्ने स्थानीयलाई चोटपटक लाग्ने गरेको छ ।
“फोहोरमैला तल खोलामा पुगेको छ । तल्लोवस्तीका मान्छेले पिउने पानी दूषित बनाएको छ,” श्रेष्ठले भने, “कतिपय ट्याक्टर बाटो बिग्रेकै ठाउँमा फोहोर फालेर फर्कने गरेको छ । वातावरणमा नकरात्मक शहर पुगिरहेको छ । जताततै फोहोरमैला र शिशा मिल्काइएको छ । वस्तुगोठाला, घाँसदाउरा जाने स्थानीयलाई समस्या भइरहेको छ ।”
