बिहिवार, आषाढ २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ असार । जातीय विभेद नगर्ने प्रतिवद्धता जनाउने खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका श्यामकुमार राईलाई सम्मान गरिएको छ ।
राष्ट्रिय छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममार्फत आगामी दिनमा कुनैपनि जातीय विभेद नगर्ने घोषणा गरेका राईलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ कमिटिले सम्मान गरेको हो ।
राईलाई दोसल्ला ओढाएर अबिर लगाइदिएर सम्मान गरिएकोे नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका पालिका कमिटि सचिव युवराज कालिकोटेले बताए ।
छुवाछुतमुक्त दिवसको अवसरमा आयोजित महिना दिने कार्यक्रममा राईले सबै मान्छे एक भएकाले कसैले कसैलाई विभेद नगर्न आव्हान गरेका छन् । उनले आफ्नो घरमा जुनसुकै जातीलाई प्रवेश गर्न रोकतोक नहुने घोषणा गरेका छन् ।
‘म बिन्दबहादुर राईको छोरा श्यामकुमार राई हो । म अहिले ३९ वर्ष पुगेँ । हामी सबै मान्छे–मान्छे एक हौँ । कसैले कसैलाई विभेद गर्नु हुँदैन,’ राईले घोषणा गर्दै भने, ‘मेरो घरमा जो सुकै आएर पस्न सक्नुहुन्छ । वरु केही साथीहरु आएर मेरो घरमा पस्न डराउनुुहुन्छ । नडराउनुस्, कुनै छेकवार छैन ।’
गत २२ जेठमा खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीबाट सुरु गरिएको एक महिने राष्ट्रिय छुवाछुतमुक्त दिवस खोटेहाङ गाउँपालिका–७ खोटाङबजार पुगेर समापन गरिएको छ ।
दिवसको अवसरमा संघले दलित समुदायको सामाजिक र आर्थिक परिवर्तनका लागि स्थानीय सरकार समक्ष जनचेतनामुलक, क्षमता बिकास र सघन क्षेत्र बिकास कार्यक्रम गर्न माग राखेको छ ।
यस्तै, ‘जातीय छुवाछुत गर्दिन’ भन्ने स्वघोषणा गर्ने/गराउने, जातीय छुवाछुत गर्नेलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने व्यवस्था गर्न, प्रत्येक वडामा दलित शिर्षकमा बजेट बिनियोजन गर्न लगायतमा माग राखिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जनाएको छ ।
दिवस समापनको अवसरमा दलित समुदायका १८ जनालाई १० हजार बराबरको औजार र २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सचिव कालिकोटेले जानकारी दिए ।