Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नगरमा बन्यो एमालेको प्रतिपक्षी सरकार

    नगरमा बन्यो एमालेको प्रतिपक्षी सरकार


    • बिहिवार, आषाढ २३ २०७९

    • नेपाल वाइड


    नगरमा बन्यो एमालेको प्रतिपक्षी सरकार
    फायल तस्बिर

    खोटाङ, २३ असार । खोटाङमा स्थानीय तहको निर्वाचनमा हार बेहोरेको ठाउँमा एमालेले प्रतिपक्षी सरकार बनाउन थालेको छ । गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हार बेहोरेको स्थानीय तहमा एमालेले पराजित उम्मेदवारलाई नै सम्वन्धित पालिकाको प्रतिपक्षी सरकार प्रमुखको जिम्मेवारी दिने नीति अख्तियारी गरेको छ ।

    जिल्लाका १० स्थानीय तहमध्ये एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रतिपक्ष सरकार बनाउन सुरु गरेको हो । एमाले नगर कमिटिको २१ असारमा बसेको बैठकले मेयरका प्रत्यासी कुमार आचार्यलाई प्रतिपक्षी सरसकारको प्रमुख बनाउने निर्णय गरेको प्रेस विज्ञाप्तीमार्फत जानकारी दिइएको छ ।

    जनताको आम समस्यलाई साथ दिँदै नगरपालिकामा हुने सबै किसिममा अनियमितता, भ्रष्टाचार, कुशासन र गठबन्धनले एकटौटी रुपमा सञ्चालन गर्ने सर्वसत्तावादका विरुद्ध दवाव र खबरदारी गर्न प्रतिपक्षी सरकार बनाइएको एमाले नगर कमिटि अध्यक्ष गोपालचन्द्र आचार्यले बताए । प्रतिपक्ष सरकारमा रहेका नेताले कुनै पनि उपभोक्ता समिति र नगरपालिकाले गर्ने आर्थिक गतिविधिमा समावेश हुन नपाउने व्यवस्था गरिएको छ ।

    प्रतिपक्षी सरकारलाई निर्वाचित स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्ने, जनताका दिनानुदिनका समस्यलाई समाधान गर्न सहजीकरण गर्ने, स्थानीय तहले गर्नुपर्ने योजना छनौट लगायतका सम्पूर्ण काम सर्वपक्षीय र सर्वदलीय छलफल र सहमतीबाट टुंग्याउने विधि अवलम्बन गर्ने, स्थानीय तहले विकास निर्माणका काममा प्रदेश र संघीय सरकारसँग समन्वय गर्न पहल प्रयत्न गर्ने लगायतका १२ बुँदे टिओआर दिइएको छ ।

    यस्तै, विचारको आधारमा कुनै पनि कर्मचारी, उपभोक्ता समिति लगायत विभिन्न निकाय र सत्ताबाट दुःख दिने काम भए शसक्त प्रतिवाद गर्ने, भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको अवधारणा अपनाउने, स्थानीय तहबाट सञ्चालन हुने आयोजनाको उपभोक्ता समिति गठन सम्वन्धित सबै पक्षको सहमतीमा गर्ने र गुणस्तरिय रुपमा आयोजना सम्पन्न गर्न सहयोग गर्ने, एकलौटी गर्दै भ्रष्टाचार र अनियमितता गरेको देखिएमा सशक्त प्रतिवाद र भण्डाफोर गर्ने, सरकारले गर्ने हरेक कामको सर्वदलीय/सर्वपक्षीय सहभागीतामा सार्वजनिक लेखा परीक्षण गर्ने/गराउने जिम्मेवारी दिइएको छ ।

    यस्तै, सरकारले सञ्चालन गर्ने हरेक आयोजनाको अनुगमन र निरीक्षण गर्ने, अन्य राजनैतिक दल, सर्वपक्षीय सरोकारवाला व्यक्ति, सरकार र निजी क्षेत्रसँग समन्वय गरी काम गर्ने, सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनियमितता, पक्षधरता र एकलौटीपना रोक्न सशक्त भूमीका निर्वाह गर्ने जिम्मेवारी दिइएको नगर कमिटि अध्यक्ष आचार्यले बताए ।

    नगर कमिटिले आगामी भदौ १ गतेदेखि १५ गतेसम्म नगरका सबै वडामा विस्तारित बैठक गरी उपविजेता भएका वडामा पनि प्रतिपक्ष सरकार घोषणा गर्ने निर्णय गरेको छ । एमालेले हार भएका सबै पालिकामा प्रतिपक्षी सरकार बनाउने घोषणा गरिसकेको छ ।

    एमाले नगर कमिटिले पाँच दलीय गठबन्धनको सत्ता, शक्ति र पैसाको चरम दुरुपयोग, बुथमा देखिएको आर्थिक चलखेलका कारण अपेक्षित परिणाम निकाल्न नसकिएको निष्कर्ष निकालेको छ । यस्तै, चुनावमा घात प्रतिघात गर्नेहरुप्रति पार्टी निर्मम हुनुपर्ने निर्णय गरेको जानकारी दिएको छ ।

    सम्बन्धित समाचार