बिहिवार, आषाढ ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ असार । जिल्ला प्रहरी कार्यालय खोटाङले हजुरमाको हत्या अभियोगमा पक्राउ परेका नातीलाई सार्वजनिक गरेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा डढुवा घर भइ हाल सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राम बस्दैआएकी ७७ वर्षीय तुलसा खड्काको हत्या अभियोगमा हाल झापा गौरादह नगरपालिका–३ धोविनीचोक निवासी नाती २९ वर्षीय हरि भन्ने निरबहादुर खड्कालाई पक्राउ गरी बिहिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
गत ३० बैसाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै अभियुक्त खत्री हजुरमालाई साथमा लिएर सुनसरीबाट २६ बैसाखमा खोटाङतर्फ हिँडेका थिए ।
तर नातीसँगै हिँडेकी तुलसाको शव ३१ बैसाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी बगरमा खाल्डोभित्र शंकास्पद र सडिसकेको अवस्थामा फेला परेको थियो ।
घटनापछि सम्पर्क विहिन बनेका खत्रीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राविधिक सहयोगमा ८ असारमा झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपालभारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
हजुरमाको हत्या गरेको भन्दै खड्का बिरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्वन्धी किटानी जाहेरी दर्ता भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक बिवादका कारण खत्रीले हजुरमाको हत्या गरेको खुलेको डिएसपी लम्सालले बताए ।
उनलाई मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान)मा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिएर हिरासतमा राखेर थप अनुसन्धान कार्य थालिएको प्रहरीले जनाएको छ ।
घटनापछि पनि गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्क विहिन बनेका थिए । मृतक वृद्धा खत्रीका सौतेनी हजुरमा हुन् । वृद्धाका आफ्नै बालबच्चा छैनन् । नदी किनारमा बेवारिसे अवस्थामा भेटिएको तुलसाको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो ।
पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे शवको २ जेठमा सदगद गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको भतिजेनी लक्ष्मी खड्का बताउँछिन् ।
शवको गत १८ जेठमा मात्र सनाखत भएको थियो । पारिवारिक बेमेल र घरेलु हिंसा पिडित बृद्धालाई भतिजेनी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिईन् ।
शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारहरुले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रयोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थिए ।
तर आफु छिमेकीको विहेमा गएको बेलामा बृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा हत्या गरिएको लक्ष्मीको दावी छ । मतदानका लागि सँगै गएका हजुरमा बेपत्ता भएपछि आफन्तले नातीलाई शंकास्पद नजरले हेरेका थिए ।
घटना थप शंकास्पद बन्दैगएपछि लक्ष्मीले ठुलीआमाको हत्या भएको र हत्यामा निरबहादुरकै संलग्नता रहेको सामाजिक सञ्जालमार्फत लाइभ बसेर दावी गरेकी थिईन् ।