Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मझुवागढीलाई फूलको पहाड बनाउने अभियान सुरु

    मझुवागढीलाई फूलको पहाड बनाउने अभियान सुरु


    • मंगलवार, आषाढ ७ २०७९

    • नेपाल वाइड


    मझुवागढीलाई फूलको पहाड बनाउने अभियान सुरु
    मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियानकाक्रममा सरसफाई गर्दै । तस्बिर : सुर्य राईको फेसबुकवाल ।

    खोटाङ, ७ असार । खोटाङको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको गढीलाई बहुवर्षे फूल रोपेर ‘फूलको पहाड’ बनाउने अभियान थालिएको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, नेता विष्णुुकुमार राई, डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सचिव सुर्यबहादुर राई, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई, सुरक्षाकर्मी, देविस्थान सामुदायीक वन उपभोक्ता समुह लगायतको सहकार्यमा मंगलबार सौन्दर्यत्मक फूलका बिरुवा रोपेर ‘फूलको पहाड’ बनाउने अभियानको सुरुवात गरिएको हो ।

    ‘फूलको पहाड’ बनाउने अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायतका पाँच सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    hhh.jpg

    मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियानकाक्रममा फुलका विरुवा रोपन गरिदै ।

    दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि मझुवागढी पुगिन्छ । मझुवागढी, कालिका भगवती मन्दीर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पैदलमार्ग आसपासमा फूल रोपेर आकर्षक बनाउने महत्वकांक्षी परिकल्पना गरिएको छ ।

    फूलैफूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्नका लागि ‘फूलको पहाड’ बनाउने अभियान थालिएको सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए ।

    ‘सुन्दर ठाउँ, वनजंगल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिएको देखिन्छ । यहाँ तीन वटै चिज एकै ठाउँमा छ । यहाँ मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव र त्यसको बीचमा सामुदायीक वन छ,’ अध्यक्ष राईले भने, ‘फूलको बगैंचा निर्माण गर्न सकियो भने मझुवागढीको पर्यपर्यटन विकासमा सघाउ पुग्नेछ । त्यसको फाइदा नगरपालिकालाई हुनेछ ।’

    मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलको पहाड’ बनाउने योजना छ । आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पुरा गरिने सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सचिव राईले बताए ।

    ‘मझुवागढीलाई फूलैफूलको डाँडा बनाएर पर्यटन प्रवद्र्धन गर्ने सपना हो फूलको पहाड,’ महासंघका प्रदेश सचिव राईले भने, ‘यसका लागि आवश्यक गुरुयोजना बनाएर बाँकी अघि बढ्छ । हाललाई फूलको बृक्षारोपण अभियान सञ्चालन सुरु गरिएको हो ।’
    चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यीक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् ।

    अग्लो डाँडा भएका कारण टाढा–टाढाका दृश्यावलोकनकालागि समेत स्थानीय मझुवागढी उक्लिने गर्छन् । यसबाहेक मझुवा कालिका भगवतीको दर्शन गर्न र भाकल पूरा गर्न आउनेको भीड दैनिक लाग्ने गरेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । भगवती मन्दिरमा कहिलेकहीँ दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।

    hjhjhj.jpg
    मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियानकाक्रममा मेयर तिर्थराज भट्टराईलगायत । तस्बिरहरु : सुर्य राईको फेसबुकवालबाट साभार ।

    सम्बन्धित समाचार