Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    निर्माण कम्पनीलाई ताकेता

    म्याद गुज्रेको चार वर्ष वित्यो, सम्पन्न भएन स्वास्थ्यचौकीको भवन

    म्याद गुज्रेको चार वर्ष वित्यो, सम्पन्न भएन स्वास्थ्यचौकीको भवन


    • शुक्रवार, जेठ २७ २०७९

    • नेपाल वाइड


    म्याद गुज्रेको चार वर्ष वित्यो, सम्पन्न भएन स्वास्थ्यचौकीको भवन
    फिनिसिङ नहुँदा अलपत्र छाडिएको स्वास्थ्यचौकी मात्तिमको भवन ।

    खोटाङ, २७ जेठ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा सम्झौता म्याद नाघेको चार वर्ष बित्दा समेत स्वास्थ्यचौकीको भवन निर्माणको काम पुरा हुन सकेको छैन ।

    २०७६ सालमा सम्पन्न हुनुपर्ने स्वास्थ्यचौकीको भवन ठेकेदार कम्पनी यूएस–नाना जेभी निलकण्ठ–३ धादिङको ढिलासुस्तीका कारण अलपत्र बन्न पुगेको हो ।

    दुई वर्षमा पुरा गर्नेगरी २०७२ साल कात्तिक २० गते सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङको काम छाडेर अलपत्र पारिएको मात्तिमका वडाध्यक्ष जीवन न्यौपानेले बताए । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि बिदा भइसक्दा समेत स्वास्थ्यचौकीको भवन पुरा हुन नसकेको हो ।

    सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याट बाहेक २ करोड १६ लाख ५९ हजार ६७० रुपैयाँमा यूएस–नाना जेभीले स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो ।

    हाल भवनको बाहिरी स्वरुप तयार भएपनि रिटेनिङवाल, ग्याविनवाल, रंगरोगन, झ्यालढोकामाथि शिशा राख्ने, वाथरुपमा धारा राख्ने लगायतका काम बाँकी छ । निर्माण कम्पनीले सरासर काम गर्ने तत्परता देखाए करिब महिना दिनमै बाँकी काम सकिने देखिएको छ ।

    सम्झौता अनुसार २० कात्तिक २०७४ मा भवन निर्माणको काम सम्पन्न गर्नु पर्ने हो तर पाँचौं पल्ट थप भएको म्याद नाघ्दा समेत भवनको काम अलपत्र छ ।

    पहिलो म्याद २१ बैसाख २०७५, दोश्रो म्याद २९ माघ २०७५, तेश्रो म्याद ३१ असार २०७७, चौथो म्याद पुस २०७७ र पाँचौं म्याद ३० चैत २०७८ मा सकिएको सघन शहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

    हाल भवन अभावमा स्वास्थ्यचौकीको सेवा तत्कालिन गाबिसको कार्यालयबाट र वडाको कामकाज महिला सशक्तीकरण समुहको भवनबाट सञ्चालन भइरहेको वडाध्यक्ष न्यौपानेले बताए । ठेकेदारले स्वास्थ्यचौकीको भवन निर्माणको पेटी ठेक्का लिएका पेटी ठेकेदारलाई समेत पुरा भुक्तानी नदिएको बताइएको छ ।

    भवन निर्माणको काम पुरा गर्न निर्माण कम्पनीलाई ताकेता

    वडा कार्यालय मात्तिमविर्ताले अलपत्र अवस्थामा छाडिएको स्वास्थ्यचौकीको भवन निर्माणको काम तत्काल पुरा गर्न निर्माण कम्पनीलाई ताकेता गरेको छ ।

    बुधबार बसेको वडा समितिको बैठकको निर्णय अनुसार बाँकी काम सक्न निर्माण कम्पनीलाई ताकेता स्वरुप पत्राचार गरिएको वडाध्यक्ष न्यौपानेले बताए । काम अघि नबढाए सार्वजनिक खरिद ऐन अन्तरगत कारबाही प्रकृया अगाडि बढाउने निर्णय भएको छ ।

    यसअघि साकेला गाउँपालिकाले पनि स्वास्थ्यचौकीको भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेकेदारमाथि कारबाही गर्न माग गरेको थियो ।

    स्वास्थ्यचौकीको भवन निर्माणको काम पुरा गर्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह र ताकेता गर्दा बेवास्ता गरेको भन्दै गाउँपालिकाले कानूनी कारबाहीका लागि शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई १७ फागुन २०७७ मा पत्राचार गरेको थियो ।

    स्वास्थ्यचौकीको अधुरो काम पुरा गर्नका लागि पटक–पटक लिखित र मौखिक आग्रह गर्दा र सचेत गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गर्दैआएको गाउँपालिकाले जनाएको छ ।

    जम्मा भएन बैंक ग्यारेन्टी

    स्वास्थ्यचौकीको भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि साकेला गाउँपालिकाले पत्राचार गरेपछि सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले बैंक ग्यारेन्टी तान्ने प्रकृया अघि बढाएको थियो ।

    ठेकेदार कम्पनीले सम्झौता अनुसारको काम नगरेको तथा हालसम्म पेश्की रकमको १८ लाख फस्र्यौट नगरेको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजनाले प्राईम कमर्सियल बैंक लिमिटेड, कमलपोखरीलाई जमानत रकमबाट रकम भुक्तानीका लागि पत्राचार गरेको थियो । तर हालसम्म बैंकले बैंक ग्यारेन्टी जम्मा नगरेको कार्यालयले जनाएको छ ।

    २० चैत २०७७ मा बैंकलाई पठाइएको पत्रमा ‘पेश्की रकममध्ये हालसम्म १८ लाख फस्र्यौट हुन नसकेको उल्लेख गर्दै प्राईम कमर्सियल बैंकबाट जारी भएको बैंक जमानतबाट आयोजनाको नाममा रकम भुक्तानी गरिदिन’ भनिएको छ ।

    सम्बन्धित समाचार