बुधवार, जेठ २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ जेठ । राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधनप्रति गठबन्धन दलले दुःख व्यक्त गरेको छ । बाइकको ठक्करबाट गम्भीर घाइते भएको अवस्थामा उपचारको क्रममा नेता श्रेष्ठको निधन भएकोप्रति कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बुधबार संयुक्त शोकबक्तव्य जारी गर्दै मर्माहत बनाएको जनाएका छन् ।
‘हक्की र निडर स्वभाव भएको र भ्रष्टाचार विरोधी’ छवि बनाएका नेता श्रेष्ठको निधनले समग्र जिल्लालाई अपुरणीय क्षती पुगेको शोकबक्तव्यमा उल्लेख छ ।
कांग्रेस सभापति बिष्णुकुमार राई, माओवादी केन्द्रका संयोजक दिपक पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र जनता समाजवादीका अध्यक्ष टंक थापाले जारी गरेको शोक वक्तव्यमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा समबेदना प्रकट गरिएको छ ।
२० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पतालमा उपचारका क्रममा २२ जेठमा निधन भएको थियो । स्पीडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा चिन्ताजनक अवस्थामा अस्पताल लगिएको थियो ।
श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए । करिब १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमीका निर्वाह गरेका उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । जिल्लामा भ्रष्टाचार र बेथितिका बिरुद्ध निडरताका साथ खुलेर बोल्ने र बिरोध गर्ने नेताका रुपमा उनी परिचित थिए ।