Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि

    खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि


    • सोमवार, जेठ २३ २०७९

    • नेपाल वाइड


    खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि
    माझी समुदायबाट चुनिएका खोटाङका तीन जनप्रतिनिधि ।

    खोटाङ, २३ जेठ । स्थानीय तहको निर्वाचनबाट खोटाङमा माझी समुदायका तीन जनाले जनप्रतिनिधिका रुपमा चुनिने अवसर पाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका सुब्बा माझी, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारका बीरबहादुर माझीले जनप्रतिनिधिका रुपमा प्रतिनिकधित्व गर्ने अवशर पाएका हुन् । सोमबहादुर र बीरबहादुर ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य विजयी भएको अवस्थामा सुव्वा कार्यपालिका निर्वाचनबाट सदस्य चुनिएका हुन् ।

    ३६ वर्षीय सुव्वा एमालेकातर्फबाट कार्यपालिका सदस्यमा विजयी भएका हुन् । ३७ वर्षीय सोमबहादुर कांग्रेस र ६१ वर्षीय बीरबहादुर एमालेकातर्फबाट वडा सदस्य निर्वाचित भएका हुन् । निर्वाचनको मुखमा कांग्रेसबाट एमाले प्रवेश गरेका बीरबहादुर पुर्वहवल्दार हुन् । सोमबहादुरले ७०२ र बीरबहादुरले ४२३ मत पाएका थिए ।

    पाँच वर्ष साउदीअरब बसेर दुई वर्षअघि गाउँ फर्किएका सोमबहादुर गाउँको सेवा गर्नका लागि जनप्रतिनिधि बनेको बताउँछन् । विगतमा कांग्रेसमा आस्था राख्दै आएका माझीले दुई वर्षअघि मात्र क्रियासिल सदस्यता लिएका हुन् । ‘पाँच वर्ष विदेशमा बसेँ । अव विदेश जान्न यही ठाउँको सेवा गर्छु,’ माझीले भने, ‘पछि परेको समुदायको उत्थानमा समय खर्च गर्नेछु ।’

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी नामको अर्कै उम्मेदवार वडासदस्यमा विजयी भएका थिए । यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भँडारेघाटका ज्ञानबहादुर माझी कार्यपालिका सदस्यमा चुनिएका थिए ।

    जिल्लाको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाट लगायतका सुनकोसी र दुधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्खौली पेशा भएका माझी समुदायले राज्यबाट अवशर नपाएको गुनासो गर्दैआएका छन् ।

    सम्बन्धित समाचार