Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    श्रमिकले वर्षौँसम्म पाएनन् पारिश्रमिक, एस्काभेटर, लोडर अन्यत्र लैजान अवरोध

    श्रमिकले वर्षौँसम्म पाएनन् पारिश्रमिक, एस्काभेटर, लोडर अन्यत्र लैजान अवरोध


    • सोमवार, जेठ १६ २०७९

    • नेपाल वाइड


    श्रमिकले वर्षौँसम्म पाएनन् पारिश्रमिक, एस्काभेटर, लोडर अन्यत्र लैजान अवरोध
    खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक । तस्बीरः दमन राई

    खोटाङ, १६ जेठ । खोटाङमा सडक कालोपत्रेको काममा खटिएका श्रमिकले पारिश्रमिक नपाएको भन्दै निर्माण कम्पनीको एस्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको छ ।

    दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत राजापानी (सिमपानी)–फोक्सिङटार सडक कालोपत्रेको काममा श्रम गरिरहेका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको बिरोधमा निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको एस्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको हो ।

    निर्माण कम्पनीले निर्माणस्थलबाट एस्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान खोज्दा सडक कालोपत्रेका क्रममा पसिना बगाइरहेका श्रमिक, उधारो सामान दिएका व्यवसायी र घर भाडा दिएका स्थानीयले अवरोध गरेका छन् ।

    सडक कालोपत्रेका काममा श्रम गरिरहेका श्रमिक, व्यवसायी र स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई निबेदनमार्फत श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माण स्थलमा भएका निर्माण सामग्री अन्यत्र लैजान नदिने जानकारी गराएका छन् ।

    निवेदकका अनुसार निर्माण कम्पनीबाट २०७६ सालदेखि विभिन्न स्थानमा घरभाडा, ज्यामीको पारिश्रमिक, गाडीभाडा र खाद्यान्नको गरी करिब १ करोड ५८ लाख २१ हजार ५९४ रकम भुक्तानी गर्न बाँकी छ । उनीहरुले श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माणस्थलमा भएका सामग्री अन्यत्र लैजान नदिने निवेदन गरेका हुन् ।

    ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने शर्तमा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ११ साउन २०७३ मा राजापानी (सिमपानी)–फोक्सिङटार (२७ किलोमिटर) खण्डको सम्झौता गरेको थियो । तर सो खण्डको हालसम्म करिब ६० प्रतिशत मात्र प्रगती भएको छ ।

    महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भने भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी गरिरहेको छ । सो खण्डको काममा पनि चरम ढिलासुस्ती भइरहेको छ ।

    सम्बन्धित समाचार