शुक्रवार, जेठ १३ २०७९
नेपाल वाइड
खोटाङ, १३ जेठ । लाउडा प्रकरणको बिरोधका क्रममा खोटाङमा गोली काण्ड भएको २१ वर्ष पुगेको छ । लाउडा बिमान खरिद प्रकरणका बिरुद्ध दिक्तेलमा १३ जेठ २०५८ मा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको घट्नालाई दिक्तेल गोली काण्डका रुपमा चिन्ने गरिन्छ ।
तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईराला नेतृत्वको सरकारले अनियमितरुपमा लाउडा बिमान खरिद गर्ने निर्णय गरेपछि त्यसका बिरुद्ध ६ बाम घटक अन्तरगत खोटाङमा एमाले र जनमोर्चाले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका प्रताप राई घाईते भएका थिए ।
लाउडा प्रकरणमा करोडौं भ्रष्टाचार भएको दावी गर्दै तत्कालिन प्रधानमन्त्रीको राजीनामा माग्दै साँझमा निकालिएको मसाल जुलुसमाथि दिक्तेलको हाटडाँडा पुगेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि गोली चलाइएको जुलुसमा सहभागीहरु बताउँछन् ।
मसाल जुलुस प्रदर्शनका क्रममा दिपेन्द्रको दुबै खुट्टा र हातमा, दिपनारायणको बायाँ खुट्टामा, विद्यामनीको बायाँ खुट्टामा र प्रतापको बायाँ हातको पाखुरामा गोली लागेको थियो । गोली लाग्दा दिपेन्द्रको खुट्टा छियाछिया बनेको छ ।
उनको अहिले पनि खुट्टामा गोलीको गहिरो डोव देख्न सकिन्छ । घट्नाकाबेला दिपनारायण र दिपेन्द्र विद्यार्थी राजनितीमा संलग्न थिए । उसबेला ११ वर्षका विद्यामनी कक्षा ६ र ८ वर्षका प्रताप यूकेजीमा अध्यनरत थिए ।