शनिवार, जेठ ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ जेठ । खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।
सुरुमा राज्य पुःर्नसंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । त्यसपछि २०७४ मा निर्वाचित जनप्रतिनिधिले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो ।
तर हाल रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटारमा रहेको केन्द्रलाई अन्य सार्नका लागि सर्बोच्चमा रिट दायर भएको अवस्थामा नवनिर्वाचित अध्यक्ष फटिककुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले हरमटारलाई नै केन्द्र कायम गर्ने निर्णय गरेको हो ।
अघिल्लो स्थानीय सरकारको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ ।
सुरुमा रावाबेँसी गाउँपालिका–२ खार्पामा राखिएको केन्द्रलाई अघिल्लो स्थानीय सरकारले हरमटार सारेको थियो । कतिपयले नयाँ नेतृत्व आएसँगै पुःन गाउँपालिकाको केन्द्र सार्न सक्ने आशंका व्यक्त भइरहेको अवस्थामा पनि अध्यक्ष श्रेष्ठले यथास्थानमा केन्द्र राख्ने निर्णय गराएका हुन् । हरमटारबाट गाउँपालिकाको केन्द्र अन्यत्र नसर्ने श्रेष्ठले बताए ।