Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङ : अधिकांश स्थानीय तहको प्रमुख उपप्रमुखमा नयाँ अनुहार

    खोटाङ : अधिकांश स्थानीय तहको प्रमुख उपप्रमुखमा नयाँ अनुहार


    • शनिवार, जेठ ७ २०७९

    • नेपाल वाइड


    खोटाङ : अधिकांश स्थानीय तहको प्रमुख उपप्रमुखमा नयाँ अनुहार
    नवनिर्वाचित प्रमुखले पद तथा गोपनीयताको शपथ लिदै ।

    खोटाङ, ७ जेठ । खोटाङका स्थानीय तहको प्रमुख उपप्रमुखमा अधिकांश नयाँ अनुहार विजयी भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये बराहपोखरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शालिकराम बञ्जरा बाहेक अन्य सबै स्थानीय तहका प्रमुख उपप्रमुखमा नयाँ अनुहार आएका हुन् । जिल्लामा यथास्थानमा दोहोरिने अवशर बञ्जराले मात्र पाएका छन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयरमा दिपनारायण रिजाल र उपमेयरमा बिणादेबी राई निर्वाचित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यसपल्ट मेयरमा कांग्रेसका तिर्थराज भट्टराई र उपमेयरमा माओवादी केन्द्रका बिसन राई विजयी भएका छन् । भट्टराई र राई गठबन्धनकातर्फबाट विजयी भएका हुन् ।

    हलेसी तुवाचुङ नगरपालिकामा भने यसअघि उपमेयरका रुपमा उदाएकी बिमला राई यसपल्ट मेयरको भूमीकामा पुगकी छन् । तर, उपमेयरमा रमेश राउत विजयी भएका छन् । राउतले वडाध्यक्षबाट उपमेयरमा फड्को मारेका हुन् ।

    २०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षमा कांग्रेसका बिश्वनाथ निरौला र उपाध्यक्षमा एमालेकी पुष्पकला भुजेलको विजयी भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारी चुनिएका छन् ।

    केपिलासगढी गाउँपालिकामा एमालेबाट चुनिएका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिरादेबी वनको ठाउँमा अध्यक्षमा कांग्रेसका समिर राई र उपाध्यक्षमा जसपाका गुरुराज राई आएका छन् ।

    खोटेहाङ गाउँपालिकामा एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईको ठाउँमा क्रमशः गठबन्धनबाट माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी बनेका छन् ।

    २०७४ सालको निर्वाचनमा जन्तेढुंगा गाउँपालिका अध्यक्षमा एमालेका शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राई विजयी भएका थिए । यसपल्ट गठबन्धनबाट अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का उदाएका छन् ।

    यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणादेबी थापा मगर चुनिएका छन् । यसअघि दिप्रुङमा कांग्रेसका भुपेन्द्र राई अध्यक्ष र सपना राई उपाध्यक्ष चुनिएका थिए ।

    यस्तै, बराहपोखरी गाउँपालिका अध्यक्ष बञ्जरा दोहोरिदा उपाध्यक्षमा नेकपा एसका भुवलराज राई आएका छन् । राईले वडाध्यक्षबाट उपाध्यक्षमा फड्को मारेका हुन् ।

    रावाबेँसी गाउँपालिकाको निवर्तमान अध्यक्ष लिलानाथ निरौला र उपाध्यक्ष समला राईको कुर्सीमा क्रमशः कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका छन् ।

    साकेला गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सरिता खड्काको ठाउँ क्रमशः कांग्रेसका रबिप्रकाश राई र माओवादी केन्द्रकी बिर्सिका राईले लिएका छन् ।

    सम्बन्धित समाचार