बिहिवार, जेठ ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका बिमला राई मेयर र रमेश राउत उपमेयरमा बिजयी भएका हुन् ।
बुधबार राती सार्जननिक अन्तिम मत परिणाम अनुसार बिमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दैै मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि बिमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा बिजयी बनेकी बिमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईबाट पछि पारिएका थिए ।
उपमेयर राउतले ५९३४ मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाएका छन् । राउत वडाध्यक्षबाट उपमेयरमा उक्लिएका हुन् ।
मुलुकभर एमाले बाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो । तालमेल भए पनि माओवादी केन्द्रकी मेयरका उम्मेदवार रुसिका राईले १०२ र एमालेकी उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छन् ।
यस्तै, जसपाका मेयरका उम्मेदवार अञ्जिल राईले २७४, मंगोल नेशल अर्गनाइजेसनका मेयरका उम्मेदवार बिनेश राईले ३८ र राप्रपाका मेयरका उम्मेदवार छत्र पुरीले २८ मत पाएका छन् । हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता छन् ।
११ वडा रहेको नगरपालिकाको आठ वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका रुद्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा कांग्रेसका देबेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा कांग्रेसका भुपालसिं राई, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा कांग्रेसका किशोरकुमार बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा कांग्रेसका रुपेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा माओवादी केन्द्रका गन राई निर्वाचित भएका छन् ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कांग्रेसका कमल गिरी, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा कांग्रेसका टेकराज राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा कांग्रेसका काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेका अनिश कार्की विजयी भएका छन् ।