Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    एउटाको मतले अर्कै उम्मेदवार विजयी

    एउटाको मतले अर्कै उम्मेदवार विजयी


    • बुधवार, जेठ ४ २०७९

    • नेपाल वाइड


    एउटाको मतले अर्कै उम्मेदवार विजयी

    खोटाङ, ४ बैसाख । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एक उम्मेदवारको मतले अर्कै उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट खुला सदस्यमा उठेका बुद्धिमान तामाङको मतले कांग्रेसकै खुला सदस्यका अर्का उम्मेदवार रामकुमार खत्री बिजयी भएका हुन् ।

    खुला सदस्यका हरेक उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको नामको बर्णानुक्रमको आधारमा सिंगल वा डबल चिन्ह प्रदान गर्छ । अल्फाबेटको अर्डरमा पहिला नाम आउने उम्मेदवारले सिंगल चुनाव चिन्ह र दोश्रो अर्डरमा नाम आउने उम्मेदवारले डबल चिन्ह पाउने व्यवस्था छ ।

    अलफाबेट ‘ब’ ‘र’ भन्दा अघि आउने भएकाले बुद्धिमानले एक रुख चिन्हमा भोट मागे । अल्फाबेट अर्डरमा बुद्धिमानभन्दा पछि आफ्नो नाम आउने भएपछि रामकुमारले डबल रुख चिन्हमा भोट माग्दै हिँडे । सँगै चुनावी घरदैलो गर्दै हिँडे । मंगलबार अन्तिम मत परिणाम सार्वजनिक हुँदा भने बुद्धिमानको मतले रामकुमार विजयी भएको घोषणा गरिएको छ ।

    अल्फाबेटको आधारमा ‘ब’ ‘र’ भन्दा अगाडि आउने भए पनि निर्वाचन आयोगको मतदाता सुचीमा बुद्धिमानको नाम वुद्धिमान उल्लेख छ । मतदाता नामावलीमा पेट चिरेको ‘ब’ नभैं उनको नाम नाकथोप्ली ‘व’ छ । अल्फाबेट अर्डरमा नाकथोप्ली ‘व’ ‘र’ भन्दा पछि आउँछ । सोही अल्फाबेट अर्डरका आधारमा मुख्या निर्वाचन अधिकृतको कार्यालयले १७ बैसाखमा बुद्धिमानलाई चुनाव चिन्ह डबल रुख र रामकुमारलाई सिंगल रुख दियो ।

    तर, चुनाव चिन्ह लिने बेलामा उनीहरुले निर्वाचन अधिकृतको कार्यालयले दिएको चिन्हको ख्याल गरेनन् । ‘ब’ र ‘र’ को आधारमा चुनाव चिन्ह पाइएकोमा दुबै उम्मेदवार ढुक्क थिए । र चुनावी अभियानमा लागे । आ–आफ्नो चिन्ह देखाएर भोट माग्दै हिँडे । मत गणना सकिँदा बुद्धिमानले ३३८ मत पाए, रामकुमारले २९४ मत पाए । बुद्धिमान विजयी भएकामा ढुक्क भए भने रामकुमार हार स्वीकार गरेर बसे ।

    तर मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट रामकुमार विजयी भएको घोषणा भयो । नाकथोप्ली ‘व’ र ‘र’ को अर्डरमा दिइएको चुनाव चिन्हको आधारमा उनलाई विजयी घोषणा गरिए किनकी सिंगल रुखमा बढी मत खसेको थियो ।

    तर सिंगल रुख बुद्धिमानको चुनाव चिन्ह थियो । आफ्नो मतले अर्कै व्यक्ति निर्वाचित भएपछि बुद्धिमान मर्माहत छन् । चुनाव चिन्ह लिँदा आफुले पाएको चिन्ह बारे ख्याल नगर्दा यस्तो परिणाम आएको कांग्रेसका दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरी बताउँछन् ।

    निर्वाचन परिणाम बारे गुनासो राख्दा निर्वाचन अधिकृतको कार्यालयले वर्णानुक्रम अनुसार गरेकाले अन्य केही गर्न सकिने जवाफ दिएको थियो । “मैले दुई रुखमा आफ्नो मत मागेको हुँ जनताले पनि मलाई त्यही अनुसार भोट दिएका हुन्,” रामकुमार भन्छन्, “तर अन्तिममा एक रुख मेरो चुनाव चिन्ह रहेछ थाहा भएन ।”

    सम्बन्धित समाचार