सोमवार, जेठ २ २०७९
नेपाल वाइड
खोटाङ, २ जेठ । खोटाङको साकेला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका रबिप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई विजयी भएका हुन् ।
रबिप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्मेदवार गोपीकृष्ण खड्काले ९६७ र उपाध्यक्षका उम्मेदवार दिलकुमारी राईले ९८६ मत पाएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा विजयी बनेका खड्का र उपाध्यक्षमा विजयी बनेका खड्का भने यस चुनावबाट पराजित भएका छन् । अध्यक्षमा निर्वाचित राई २०७० सालको संविधानसभा सदस्यका उम्मेदवार हुन् ।
उनी हाल संघीय महाधिबेसन प्रतिनिधि छन् । पाँच वडा रहेको गाउँपालिकामा ४९३४ मत खसेकामा ९८ मत बदर भएको छ । साकेला गाउँपालिका–१ मा कांग्रेसका हेमन राई, साकेला गाउँपालिका–२ रतन्छामा एमालेका जितेन्द्रकुमार राई, साकेला गाउँपालिका–३ खिदिमामा माओवादी केन्द्रका गोबिन्द तामाङ, साकेला गाउँपालिका–४ मात्तिममा माओवादी केन्द्रका अर्जुनकुमार कटुवाल र साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसका जीवन खत्री निर्वाचित भएका छन् ।