शुक्रवार, बैशाख २३ २०७९
नेपाल वाइड
दमन राई
खोटाङ, २३ बैसाख । मेनुजा बिक पढे लेखेकी थिईन् । चाहँदा कतै न कतै जागीर खान सक्थिन् । तर स्नातक उत्तिर्ण गरेको सर्टिफिकेट थन्काएर मेनुजा राजनीतितिर लागिन् । उनी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका स्थायी बासिन्दा हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलित महिला वडासदस्यमा निर्वाचित उनी पुःन यसपल्ट सोही पदमा चुनिन उम्मेदवार बनेकी छन् ।
हाम्रो समाजमा पढालेखा भएका व्यक्तिले राजनीति गर्नुहुन्न भन्ने मानसिकता छ । रावा क्याम्पस खार्पाबाट स्नातक गरेकी मेनुजा वडा सदस्यमा निर्वाचित हुँदा कुरा काट्ने र होच्याउनेको कमी देखिएन । लोकसेवा भिड्नु, जागीर खानु, बेकारमा के कुदिराहोला भनेर खुट्टा तान्ने काम भए । तर उनले वास्ता गरेनन् । “यत्रो पढेको मान्छेले लोकसेवा भिड्नु, जागीर खानु ! महिला सदस्यमा के अड्केर बसेको भनेर खुट्टा तान्ने काम भइरहन्छ । कहिलेकहीँ त तनावै हुन्छ,” ३० वर्षीय मेनुजा भन्छिन्, “तर त्यो होईन, समाज परिवर्तन हामीजस्तो मान्छे लागेर मात्र हुनेरछ । पढे लेखेको मान्छे राजनीतिमा लाग्यो भने साँच्चीकै समाज परिवर्तन गर्न सकिन्छ भन्ने उद्धेश्य छ ।”
मेनुजा कांग्रेसका समर्थक थिईन् । पार्टीका कार्यक्रममा जाने, भाषण सुन्ने गर्थिन् । २०७४ सालको स्थानीय तहको निर्वाचन हुँदैगर्दा उनको खोजी भयो । नभन्दै विजयी पनि भईन् । श्रीमान भूपेन्द्र बिक रोजगारीका सिलसिलामा बिदेशमा छन् । मेनुजा दुई छोरी सहित घर र जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै बसेकी छन् ।
मेनुजाले केही समय बिश्वज्योती लामीडाँडामा काम गरिन् । लोकसेवाको तयारीका लागि शिक्षणको काम छाडे । केही समय लोकसेवाको तयारी गरे तर उनको रुची सामाजिक सेवामा बढि थियो ।
अन्ततः उनको बाटो त्यतै मोडियो । सामाजिक सेवा गर्ने, समाजका लागि केही गर्न पाए हुन्थ्यो, प्रतिष्ठा कमाउन पाए हुन्थ्यो, व्यक्तित्व र पहिचान बनाउन सके हुन्थ्यो भन्ने भन्ने हुटहुटीले राजनीतितिर बाटो मोडिएको मेनुजा बताउँछिन् । “मेरो इन्ट्रेष्ट यतै थियो । सामाजिक सेवाचैं मेरो मन पर्ने विषय थियो,” उनै भन्छिन्, “पहिल्यैदेखि संघसंगठनमा चासो र रुची राख्ने भएकाले परिवारबाट प्रोत्साहन मिल्यो । सपोर्ट पाएँ । परिवारको सपोर्ट नभएको भए यहाँ हुन्नथेँ ।”
अहिले पनि समाजमा बोल्न नसक्ने, आफ्नो परिचय दिन नसक्ने महिला छन् । दलितमाथिको छुवाछुत कायम छ । महिला, जनजाती, पिछडिएको वर्गको स्तर उक्सन सकेको छैन । त्यही सामाजिक समस्याको हल गर्ने प्रयासमा मेनुजा राजनीतिमा हाम फालेकी हुन् । यसको परिवर्तन राजनीतिमा शिक्षित बर्गको उपस्थिति भए मात्र सम्भव हुने उनको बुझाई छ ।
पाँच वर्षको अवधिमा वडामा उनले सडक, खानेपानी लगायतको बिस्तारमा जोडबल गरिन् । तर कतिपय लक्ष्य अनुसार काम गर्न सकिनन् । त्यही अधुरो सपनालाई पुरा गर्नका लागि मेनुजा फेरी वडासदस्यमा उठेकी हुन् । आफ्नो पालामा ‘यस्तो काम राम्रो भयो भनेर समुदायले मूल्यांकन गर्ने ठाउँ बनाउने सोच राखेको उनी बताउँछिन् ।
वडा सदस्य बनेर काम गर्दा वडा कार्यालय सञ्चालन प्रकृया बारे उनी जानकार बनिन् । त्यही अनुभवका आधारमा उनले यसपल्ट वडाध्यक्षमा दावी गरेकी थिइन् तर भूगोल मिलाउनेक्रममा उनी पछि हट्नुपर्ने अवस्था आएको हो ।
महिला तथा दलित महिला जनप्रतिनिधिको क्षमता अभिबृद्धिका लागि दलित महिला केन्द्र नेपालले आईएफईएससँगको साझेदारीमा सञ्चालन गरेको शी–लीड्स–मध्यवर्ती प्रशिक्षणमा सहभागी भएपछि थप उर्जा थपिएको मेनुजा बताउँछिन् ।
२०७४ सालमा वडामा दलित महिला सदस्यमा निर्वाचित हुँदैगर्दा हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारकी ३९ वर्षीय धनलक्ष्मी बिक मञ्चमा गएर सम्बोधन गर्न डराउँथिन्, बोल्न हिचकिचाहट हुन्थ्यो ।
तर विस्तारै दक्षता विकास गर्दै लगिन् । विभिन्न क्षमता विकास सम्वन्धी तालिममा सहभागी हुने अवशर पाईन् । नगरमा निर्णायक पदमा महिला जनप्रतिनिधिको प्रतिनिधित्व सुनिश्चितताको माग पनि उठ्न थाले । त्यही कारण यसपल्ट उनी वडाध्यक्षमा दावी गरेर पुरुष आकांक्षी सामु चुनौती बनेर उभिन् ।
वडाध्यक्षमा ९ पुरुष आकांक्षी हुँदा महिलाबाट दावी गर्ने धनलक्ष्मी एक्लो महिला थिईन् । अर्कोपल्ट वडाध्यक्षको उम्मेद्वार बन्ने शर्तमा उनी पछि हटेर वडा सदस्यकै उम्मेदवार बनेकी छन् । “एक पटक छाडिदिनुस्, अर्कोपल्ट वडाध्यक्षमा उठाउँछौं भन्नुभयो ।
त्यही भएर वडा सदस्यमा उठेको हो । किन अरुको मन दुखाएर किन राजनीति गर्नु, अर्कोपल्ट उठ्छु,” उनले भनिन्, “पाँच वर्षमा बोल्न सिकियो । नगर र वडामा आएको बजेटका बारेमा सोधीखोजी गर्न, वडाध्यक्ष, मेयर र उपमेयरसँग समन्वय र सल्लाह कसरी गर्ने भन्ने सीप सिकियो ।”
पाँच वर्षमा वडामा विजुली बत्ती विस्तार भए, वडाको टोल–टोलमा बाटो पुर्याइए । पानीको व्यवस्थापन गरिए । दलित र महिला लक्ष्यित कार्यक्रम गरियो । जाँतो विस्थापिथत गर्न आमा समुहलाई मिल उपलव्ध गराइएको धनलक्ष्मी बताउँछिन् ।
मामा हिराबहादुर बिकको प्रेरणाबाट राजनीतिमा रुची राख्न थालेकी धनलक्ष्मीले श्रीमान, छोराछोरीबाट सोचेको साथ पाएकी छन् । “परिवारबाट फुल्ली सपोर्ट छ । मैले सोचेको काम गर्न मलाई छेकथुन छैन,” उनी भन्छिन्, “यस्तो ठाउँमा जान लागेको भन्दा छेकबार छैन । माईती पक्षबाट पनि बारबा हौसला मिलिरहेको छ ।”
यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडासदस्य चुनिएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँकी इन्द्रकुमारी भुजेल पनि अहिले सोही पदमा दोहोरिन उम्मेदवार बनेकी छन् ।
भुजेललाई एमालेले वडासदस्यमा दोहोर्याउन उम्मेदवार बनाएको हो । पाँच वर्षको अनुभवलाई पुःन जनताको सेवामा उपयोग गर्ने सोच सहित उनी हाल चुनावी घरदैलोमा व्यस्त छन् । उनी पनि वडाध्यक्षको दावी गर्ने हैसियतमा पुगेकी छन् ।
जिल्ला निर्वाचन कार्यालय खोटाङका अनुसार ७९ जना महिला वडा सदस्यका लागि २३० र ७९ जना दलित महिला सदस्यका लागि २१७ जनाको उम्मेद्वारी परेको छ ।