मंगलवार, बैशाख २० २०७९
नेपाल वाइड
खोटाङ, २० बैसाख । खोटाङका राजनैतिक दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन, नेकपा एमाले र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी गतिविधि सुरु गरेका हुन् ।
आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा होमिएका राजनैतिक दलले निर्वाचन आचारसंहिता विपरित मुख्य–मुख्य बजार तथा चोकमा रंगी बिरंगीका पार्टीको झण्डा झुण्ड्याएका छन् ।
साविकको सदरमुकाम दिक्तेलबजारका अधिकांश घर, पशल तथा होटल अगाडि पार्टीको चिन्ह अंकित झण्डा फहराइएका छन् । दिक्तेलबजारका कतिपय विद्युतका पोलमा समेत पार्टीका झण्डा झण्डा झुण्ड्याइएका छन् ।
दिक्तेल बाहेक ऐसेलुखर्क, बाक्सिला, हलेसी, दुर्छिम, खोटाङबजार, चिसापानी, मात्तिम लगायतका प्रमुख केन्द्रहरुमा समेत आचार संहिता उल्लंघन गर्दै पार्टीको चिन्ह अंकित झण्डा राखेको पाइएको छ । बजारका केही ठाउँमा पार्टीको चिन्ह अंकित तोरण समेत टाँगिएका छन् ।
निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भए पनि दिक्तेलबजारमा साउण्ड सिस्टम जीपमा राखेर घन्काउँदै ओहोर–दोहोर गराएको देखिन्छ ।
पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको सुनिन्छ । कतिपय दलका चुनावी जुलुस र र्यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ ।
पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारको घरमा तोकिएको साईजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु निर्वाचन आचार संहिताको उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय खोटाङका जिल्ला निर्वाचन अधिकारी राजेश गौतम बताउँछन् ।
निर्वाचन आचारसंहिता उल्लंघन भएको पाइएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार सबै दलका प्रतिनिधिलाई बोलाएर बैठक राख्यो । बैठकमा उपस्थित दलका नेताले मंगलबार बिहान १० बजेसम्ममा यत्रतत्र राखिएका झण्डा हटाउने प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे ।
तर प्रतिवद्धता–पत्रमा हस्ताक्षर गरेर फर्किएका दलले हालसम्म बजारका निर्वाचन सामग्री हटाएका छैनन् । “हिजो ६ दललाई बोलाएर निर्वाचन सामग्री हटाउन बचनबद्ध गराइएका थियौं ।
उहाँहरुलाई मंगलबार बिहान १० बजेसम्मको दिएका थियौंँ,” मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले भने, “दलकातर्फबाट हटाउछौं भन्ने कमिटमेन्ट पनि भएको थियो । अहिले के के गर्दैछन् । हटाउँदै होलान् ।”
दिक्तेलबजारमा यसअघि राखिएका दलका झण्डा हटाउन लगाइए पनि पुःन पार्टीको चुनाव चिन्ह अंकित झण्डा राखिएको पाइएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।
निर्वाचन आचार संहिता २०७८ मा घर वा जग्गा धनीको अनुमित नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न मिल्दैन ।
यस्तै, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आसभा, कोणसभा, बैठक जस्ता भेला गर्न नहुने, जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, ज्याकेट, कमिज, झेला लगायत बोक्न नहुने, निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नर्भका बालबालिकाको प्रयोग गनए वा गराउन नहुने उल्लेख छ ।
यस्तै, उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३ इन्टु ३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्धेश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृष्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था छ ।