आइतवार, बैशाख १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ बैसाख । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई वडाध्यक्षमा निर्वाचित भए । उनलाई एमालेले वडाध्यक्षको उम्मेदवारका रुपमा पत्याएर टिकट दिएको थियो ।
नभन्दै उनी वडाध्यक्षमा बाजी मार्न सफल भए । पाँच वर्ष जनप्रतिनिधिका रुपमा काम गर्नेक्रममा उनले आफ्नो भूमीकालाई थप फराकिलो बनाए । वडाबाट नभएर सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे ।
फलतः वडाध्यक्षबाट विदाइ हुनेबेला उनले गाउँपालिका अध्यक्षको टिकट पाएका छन् । मनोनयन दर्तापछि उनी चुनावी गतिविधिमा व्यस्त बनेका छन् । जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा दावी गर्ने एक्ला वडाध्यक्ष हुन् ।
“सिंहदरबारको अधिकार गाउँ–गाउँमा अझै पनि पुगेन । सिंहदरबारबाट अति तल झर्यो तर ग्रास लेवलमा पुगेन । बरु साविकको गाबिसमा भएको अधिकार खोसेजस्तो भो ।
मैले बस्तीमा बजेट लैजानपर्छ भनेर वकालत गर्दै आएँ,” उनले भने, “मैले जनतालाई दुःख दिने काम गरिँन । जनतासँग किप इन टचमा बसेँ । सबै वडाका जनतामाझ पुगेँ । त्यही कारण पनि पार्टीले बिश्वास गरेजस्तो लाग्छ ।”
सँगै वडाध्यक्षमा चुनिएका कतिपय जनप्रतिनिधि सोही स्थानमा दोहोरिन वडाध्यक्षकै उम्मेद्वार बनेका छन् । कतिपय वडाध्यक्ष पार्टीबाट टिकट नपाएर पाँच वर्षे कार्यकालबाट बिदा हुने तरखरमा छन् ।
तर, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रमेश राउत अहिले उपमेयरको दौडमा छन् । जनप्रतिनिधिका रुपमा पाँच वर्ष बिताउँदै गर्दा राउतका लागि वडा सानो बन्दै गयो । उनले आफ्नो भूमीकालाई फराकिला बनाउँदै लगे र उपमेयरमा दाबी गर्ने हैसियत बनाए ।
ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङ गाउँपालिका अध्यक्षका आकांक्षी थिए । नजिकका साथीभाईलाई पालिका अध्यक्षमा उठ्ने घोषणा गरिसकेका थिए । तर गठबन्धनका क्रममा उनको गाउँपालिका उठ्ने सोच पुरा हुन सकेन ।
आफ्नै गठबन्धनका उम्मेद्वार बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका तामाङ ‘व्याक’ भएनन् । मनोनयनपत्र फिर्ता लिनुको सट्टा कारबाही भोग्न तयार भएका छन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष निर्वाचित हुनु अगावै बिकास राईलाई मेयर हाँक्ने क्षमता भएको व्यक्तिका रुपमा चर्चा गर्नेगरिएको थियो ।
उनी सम्वद्ध नेकपा माओवादी केन्द्रले २०७४ सालमा वडाध्यक्षको टिकट दियो र भारी मतका साथ विजयी बने । यसपल्ट मेयरको उम्मेद्वारमा उनको चर्चा थियो ।
तर गठबन्धन गर्नेक्रममा नगरमा माओवादी केन्द्रको मागमा उपमेयर पर्यो । मेयरमा स्वतन्त्र मनोनयन दर्ता गराएका बिकासले गठबन्धनलाई सहयोग गर्नेगरी मनोनयन फिर्ता गरिसकेका छन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राई मेयरका आकांक्षी थिए । पार्टीको संगठन टोल टोलमा पुगेकै थिएन । त्यस्तो अवस्थामा उनी संघीय समाजवादी फोरम (हाल जसपा)बाट वडाध्यक्ष चुनिएका थिए ।
उनले वडामा काम गर्नेक्रममा नगरपालिका हाँक्ने आँट र साहस जुटाए । तर गठबन्धनको भागबण्डा गर्नेक्रममा जसपाले अन्य दललाई सघाउनु पर्ने अवस्था आयो । यद्यपी उनी ‘नगर चलाउँछु’ भन्ने उम्मेदवारका रुपमा देखिए ।
अघिल्लो स्थानीय तहको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट बिमला राई उपमेयरमा निर्वाचित भईन् । पाँच वर्षको कार्य अनुभवबाट उनले यसपल्ट आफुलाई मेयरको दावेदारका रुपमा उभ्याएकी हुन् ।
यस्तै, एमालेबाट निर्वाचित खोटेहाङ गाउँपालिकाकी उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष गोमादेबी मगर प्रमुख बन्नका लागि चुनावी मैदानमा उत्रिएकी छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका गोपालचन्द्र राई आयल निगमको उपप्रन्धक (प्रशासन)को जागीर छाडेर गाउँपालिका अध्यक्षका उम्मेद्वार बनेका छन् ।
नेपाल आयल निगममा १ चैत २०६९ मा सेवा प्रवेश गरी हाल उपप्रन्धक (प्रशासन) पदमा कार्यरत राईले गत ६ बैसाखदेखि लागु हुनेगरी राजिनामा दिएका थिए । उनलाई नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षको टिकट दिएको हो ।