Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    स्थानिय तह निर्वाचन

    गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेद्वार बिरुद्ध बागी

    गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेद्वार बिरुद्ध बागी


    • आइतवार, बैशाख १८ २०७९

    • नेपाल वाइड


    गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेद्वार बिरुद्ध बागी
    बागी उम्मेद्वार सन्तबीर तामाङ

    खोटाङ, १८ बैसाख । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विरुद्ध बागी उम्मेदवारी परेको छ । गठबन्धन दलकोतर्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई र उपाध्यक्षमा कांग्रेसका राजेश राजभण्डारीलाई उम्मेद्वार बनाएको अवस्थामा कांग्रेसका ऐसेलुखर्क गाउँपालिका सभापति सन्तबीर तामाङले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    गठबन्धन दलले बागी उम्मेद्वार दिने नेता तथा कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन अन्यथा कारबाही गर्ने चेतावनी दिए पनि तामाङले चुनावी मैदान नछाडेका हुन् । जिल्लाका सबै स्थानीय तहमा गठबन्धन दलभित्रबाट परेका स्वतन्त्र उम्मेद्वारले मनोनयन फिर्ता गरे पनि तामाङले ‘व्याक’ हुन अस्वीकार गरेका हुन् ।

    ऐसेलुखर्क गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका बिश्वनाथ निरौला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    यसअघिको चुनावमा जित्ने पार्टीलाई सम्वन्धित स्थानीय तहको प्रमुख दिने शर्तमा गठनबन्धन गरिएको भए पनि माओवादी केन्द्रलाई प्रमुख दिने सहमती गरेकाले स्वतन्त्र उम्मेद्वारी दिनुपरेको तामाङले बताए ।

    जिल्ला कार्य समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर लिनेगरी ऐसेलुखर्कको प्रमुख माओबादी केन्द्रलाई छाडेको उनको गुनासो छ ।

    “म पालिका सभापति छु । हामीलाई कुनै जानकारी छैन । केन्द्रको निर्णय विपरित पालिका साटासाट भएको छ,” तामाङले भने, “कार्यकर्ता, सबै कमिटिका साथीहरुलाई असहज भएकाले स्वतन्त्र उम्मेद्वारी लाउन बाध्य भएको हुँ । गाउँपालिकाका कांग्रेस कति पिडित छन् । म आफु उठेको होईन । ऐसेलुखर्क कांग्रेसले उठ्नुपर्छ, हामी विचल्नी हुन्छौँ भनेपछि उठेको हुँ । मलाई कारबाही गर्दा केही फरक पर्दैन ।”

    तामाङको उम्मेद्वारीका पछाडि केही समय अघि कांग्रेस कार्यकर्तामाथि माओवादी सम्वद्ध कार्यकर्ताले गरेको आक्रमणको असन्तुष्टी समेत जोडिएको छ ।

    “गत अंग्रेजी नयाँ वर्षका दिन भएको आक्रमणमा धनकाजी राईको आँखा फुटेको छ, धनराज तामाङको हात काटिएको छ, मनकुमार तामाङको टाउँकोमा चोट लागेको छ,” उनले भने, “त्यही समुहलाई टिकट दिएपछि साथीहरुले त्यसको बिरुद्ध उठ्नुपर्छ भनेर उभिदिएको हो ।”

    ऐसेलुखर्कमा एमालेबाट अध्यक्षमा गिरेन्द्रबहादुर राई, उपाध्यक्षमा पुष्पकला भुजेल, राप्रपाकातर्फबाट अध्यक्षमा बिष्णु निरौला र राप्रपाकोतर्फबाट उपाध्यक्षमा डोल्मा राजभण्डारी चुनावी मैदानमा छन् ।

    सम्बन्धित समाचार