आइतवार, बैशाख १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ बैसाख । खोटाङका विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेद्वार बिरुद्ध परेका केही बाहेकका बागी उम्मेद्वारी फिर्ता भएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राई बिरुद्ध स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका सुरेश राईले उम्मेद्वारी फिर्ता गरेका छन् ।
यस्तै, बराहपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेद्वार गोमादेबी मगर बिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका दिर्घबहादुर मगर ‘व्याक’ भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष चुनिएकी गोमादेबी अध्यक्ष र कांग्रेसबाट एमाले प्रवेश गरेका जीवन राई उपाध्यक्षको उम्मेद्वार बनाइएपछि असन्तुष्ट दिर्घले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा विकास राईले दिएको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलमध्ये कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेद्वारी दिने सहमती थियो ।
तर धर्मराज पोखरेलले कांग्रेस प्रदेश समिति र तिर्थराज भट्टराईले केन्द्रबाट टिकट ल्याए । एकै पार्टीबाट दुई उम्मेद्वारले टिकट ल्याएपछि सिर्जित अन्यौलताका बीच विकासले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका थिए ।
उसो त कांग्रेसमा टिकटको रस्साकस्सी सुरु भएपछि माओवादी केन्द्रकातर्फबाट दुर्गाजयन्ती राई र जनता समाजवादीका सुर्यबहादुर राईले मेयर तथा नेकपा एकीकृत समाजवादीका भागवत घिमिरेले उपमेयरमा उम्मेद्वारी दिएका थिए । तर, मनोनयनपछि पोखरेलले भट्टराईलाई समर्थन गरेसँगै सबैको उम्मेद्वारी फिर्ता भएको छ ।