बिहिवार, बैशाख १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ बैसाख । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एउटै वडाका दुई नेता अध्यक्षका उम्मेद्वार बनेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई नेकपा एमाले र गोपालचन्द्र राई नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उठेका हुन् ।
लोकेन्द्र साविकको बतासे–५ र गोपालचन्द्र साविकको बतासे–१ का बासिन्दा हुन् । गोपालचन्द्र साईनोले लोकेन्द्रका काका हुन् । साइनोले नजिक भएकाले दुबै उम्मेद्वारका चुनावी गतिविधि मैत्री हुने अनुमान गरिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका लोकेन्द्र यसपल्ट गाउँपालिका अध्यक्षका उम्मेद्वार बनेका हुन् । गोपालचन्द्र नेपाल आयल निगमको उपप्रन्धक (प्रशासन)को जागीर छाडेर गाउँपालिका अध्यक्षका उम्मेद्वार बनेका हुन् ।
आयल निगममा १ चैत २०६९ मा सेवा प्रवेश गरी हाल उपप्रन्धक (प्रशासन) पदमा कार्यरत राईले गत ६ बैसाखदेखि लागु हुनेगरी राजिनामा दिएका थिए ।
७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा नइन्द्र राई, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा गोपालचन्द्र राई र उपाध्यक्षमा नैनकुमारी खत्री, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा ओमीराज राई, राप्रपाबाट अध्यक्षमा कल्पना राई, स्वतन्त्रबाट अध्यक्षमा बिश्वराज राई र सुरेश राईको उम्मेद्वारी दर्ता भएको छ ।