बिहिवार, बैशाख १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ बैसाख । नेपाली कांग्रेस खोटाङका नेता मुक्तीनाथ तिम्सिनाले जिम्मेवारी त्याग गरेका छन् । कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत तथा व्ययासीक कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
बुधबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनमार्फत तिम्सिनाले आगामी दिनमा स्वतन्त्र नागरिकका रुपमा रहने जानकारी दिए । २०५९ सालदेखि कांग्रेसमा क्रियासिल तिम्सिना २०६२/०६३ मा तरुण दलको जिल्ला अध्यक्ष बनेका थिए ।
उनी कांग्रेस नेता मनोज तिम्सिनाका भाई हुन् । केपिलासगढी गाउँपालिका अध्यक्षका आकांक्षी मनोजले टिकट नपाएपछि भाई मुक्तीनाथले जिम्मेवारी छाडेको अनुमान गरिएको छ । पार्टीका उम्मेदवारले ‘हार्दा पनि जित्दा पनि’ दोष बोक्नुपर्ने अवस्था आएकाले जिम्मेवारी छाडेको बताए ।
तिम्सिनाले निर्माण गरेको माथिल्लो रावा खोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ । यस बाहेक बाख्रापालन, कालिज पालन, लोकल माछा पालन लगायतका कृषि कर्ममा लाग्नेगरी पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिकको रुपमा काम गर्ने तिम्सिनाले बताए ।
चुनावका बेला कांग्रेसका पुर्व कोषाध्यक्ष जीवन राई र पुर्वजिल्ला सदस्य भुवन श्रेष्ठले पनि पार्टी परित्याग गरेका छन् । पुर्वकोषाध्यक्ष राईलाई एमालेले बराहपोखरी गाउँपालिका उपाध्यक्षमा उठाएको छ ।