Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    कांग्रेसको टिकट विवादः प्रदेशको निर्णय केन्द्रले उल्टायो

    कांग्रेसको टिकट विवादः प्रदेशको निर्णय केन्द्रले उल्टायो


    • सोमवार, बैशाख १२ २०७९

    • नेपाल वाइड


    कांग्रेसको टिकट विवादः प्रदेशको निर्णय केन्द्रले उल्टायो
    कांग्रेस केन्द्रिय समिति र प्रदेश समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकटका लागि गरेको सिफारिस ।

    खोटाङ, १२ बैसाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट वितरणमा कांग्रेसको प्रदेश र केन्द्रिय समितिको निर्णय बाझिएको छ । प्रदेश समितिले धर्मराज पोखरेललाई टिकट दिने निर्णय गरेकोमा केन्द्रीय कार्य समितिले तिर्थराज भट्टराईलाई मेयरको टिकट दिएको छ ।

    प्रदेश समितिको निर्णय अनुसार पोखरेल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गर्न पुगेको केही समयपछि भट्टराई केन्द्रिय समितिले दिएको टिकट लिएर उम्मेद्वारी दर्ता गर्न पुगेका थिए ।

    पार्टी सभापति शेरबहादुर देउवाले प्रदेशको निर्णय उल्टाउँदै भट्टराई आधिकारिक उम्मेद्वार भएको उल्लेख गर्दै पार्टीको उम्मेद्वार कायम गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि पोखरेलको मनोनयन दर्ता रोकिएको छ । केन्द्रको सिफारिसमा भट्टराईको मनोनयन दर्ता भएपछि पोखरेलले स्वतन्त्र उम्मेद्वारी दर्ताको तयारी थालेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पोखरेलले टिकट पाएको भन्दै भट्टराई पक्षका नेता तथा कार्यकर्ताले सोमबार बिहान करिब तीन घण्टा कांग्रेस पार्टी कार्यालयमा घेराउ गर्दै ताला लगाएका थिए ।

    तर पोखरेलको ठाउँमा भट्टराईले नै टिकट पाउने आश्वसनपछि असन्तुष्ट पक्षले ताला खोलेका थिए । प्रदेशबाट पोखरेलले टिकट पाएको खबर सार्वजनिक भएपछि कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सभापति प्रकाश श्रेष्ठ नेतृत्वको टोली बिरोध गर्दै पार्टी कार्यालयमा ताला लगाउन पुगेका थिए ।

    प्रदेशबाट मेयरको टिकट पाएपछि पोखरेल हेलीकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिएका थिए । हेलीकोप्टरबाट ओर्लने बित्तिकै उनीमाथि असन्तुष्ट पक्षले हातपात गरेका थिए ।

    उनलाई सुरक्षाकर्मीले आक्रमणबाट जोगाएर कांग्रेस पार्टी कार्यालयमा पुर्‍याएको थियो । केही घण्टा पार्टी कार्यालयमा बसेका पोखेल सुरक्षाकर्मी सहित मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुगेका थिए । अदालतको गेटबाट भित्र पस्ने बित्तिकै एमालेका नेताले स्वागत गरेका थिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी तालमेलका क्रममा मेयर कांग्रेस र उपमेयर नेकपा माओबादी केन्द्रको भागमा परेको हो ।

    कांग्रेसमा टिकटको लफडा भइरहँदा माओबादी केन्द्रकोतर्फबाट उपमेयरमा बिसन राईको मनोनयन दर्ता भएको छ । टिकट लिने सन्दर्भमा कांग्रेसभित्र चलेको शक्तीसंघर्षको असर गठबन्धनभित्र पर्ने आँकलन छ । यसले एमालेलाई उत्साहित बनाएको छ ।

    सम्बन्धित समाचार