बुधवार, बैशाख ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ बैसाख । राष्ट्रिय मानव अधिकार आयोगले ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनमा मतदाता सामु प्रस्तुत गरिने घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता सह–सचिव डा. टीकाराम पोखरेलले मंगलबार विज्ञाप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनका सन्दर्भमा तयार पारिने घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषयलाई समावेश गर्नका लागि राजनैतिक दलहरुलाई आग्रह गरेका हुन् ।
विगतमा राजनीतिक दलहरुले घोषणापत्रमा मानव अधिकारका विषयलाई समावेश गरेकोमा सराहना गर्दै आयोगले आगामी घोषणापत्रमा अझ स्पष्टताका साथ मानव अधिकारका विषय समावेश गर्न अपेक्षा राखेको जनाएको छ ।
“समृद्ध राष्ट्र निर्माण गर्ने सन्दर्भमा नागरिकका आर्थिक, सामाजिक, साँस्कृतिक, नागरिक तथा राजनीतिक अधिकारको सुनिश्चिततालाई स्वीकार गरी ती हक अधिकारहरुलाई मौलिक हकको रुपमा नेपालको संविधानले व्यवस्था गरेको सन्दर्भमा त्यसको कार्यान्वयमा राजनीतिक दलको समेत जिम्मेवारी रहन्छ,” विज्ञाप्तीमा भनिएको छ, “राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २० मा उल्लिखित राजनीतिक दलको काम, कर्तव्य र अधिकार अनुरुप पनि दलहरुले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमा समेत मानव अधिकारका विषयवस्तु समावेश गर्नुपर्ने हुन्छ ।”
हरेक राजनीतिक दलको प्रतिज्ञापत्रको रुपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनको लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोगको आग्रह छ ।