सोमवार, बैशाख ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ बैसाख । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा कांग्रेस सहितको र चार स्थानीय तहमा कांग्रेस बिनाको गठबन्धन गर्ने निर्णय भएको हो ।
गत १६ चैत यता निरन्तर बसेको सत्तारुढ दल कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको बैठकले आइतबार राती पालिका प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको हो । ४ स्थानीय तहमा भने कांग्रेस एकल चुनाव लड्ने सहमती भएको पुर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कुलप्रसाद फुयाँलले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र, बराहपोखरी गाउँपालिका प्रमुखमा कांग्रेस, उपप्रमुखमा नेकपा एकीकृत समाजवादी, रावाबेँसी गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेद्वार उठाउने सहमती भएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेस, खोटेहाङ गाउँपालिका प्रमुख माओवादी केन्द्र, उपप्रमुख कांग्रेस, जन्तेढुंगा गाउँपालिका प्रमुख माओवादी केन्द्र र उपप्रमुख कांग्रेसको भागमा परेको छ ।
तर हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकामा भने कांग्रेसले एकल उम्मेद्वारी दिने सहमती भएको छ । कांग्रेस सिंगल लड्ने भएपनि त्यी चार स्थानीय तहमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीचमा चुनावी तालमेल हुने भएको छ ।
केपीलासगढी गाउँपालिकामा प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख जनता समाजवादीको भागमा तथा साकेला गाउँपालिकामा प्रमुख माओवादी केन्द्र र उपप्रमुख जनता समाजवादीको भागमा परेको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेद्वार उठाउने सहमती भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री रामकुमार राई पासाङले बताए । यद्यपी यस बारेमा थप छलफल भइरहेको जनाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादी केन्द्रलाई सहयोग गर्ने सहमती भएको छ । चार स्थानीय तहमा कांग्रेस सिंगल लड्ने भए पनि मित्रवत र स्वस्थ प्रतिष्पर्धा हुने पुर्वसांसद एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य फुयाँलले बताए ।
जिल्ला समन्वय समिति प्रमुख जनता समाजवादीलाई दिने सहमती भएको छ । जिल्ला समन्वय समिति उपप्रमुखको भागबण्डा छलफलकै चरणमा छ । गठबन्धन दलले पालिका प्रमुख, उपप्रमुखदेखि जिल्ला समन्वय समिति प्रमुखको भागबण्डा टुंग्याए पनि ७९ वडाको भागबण्डा टुंग्याउन बाँकी छ ।
भागबण्डामा प्रमुख र उपप्रमुख परेका दलभित्र पुःन उम्मेद्वारको छनौट सुरु भएको छ । आकांक्षी धेरै भएकाले उम्मेद्वार चयन थप सकसपूर्ण देखिएको छ । जिल्लामा एमाले पनि उम्मेद्वार चयनमा जुटेको छ ।