सोमवार, बैशाख ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ बैसाख । खोटाङमा आसन्न स्थानीय तहको निर्वाचनका समयमा सञ्चार माध्यम तथा पत्रकारको अनुगमनका लागि समिति बनाइएको छ । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनका बेला जिल्लाका सञ्चार माध्यम तथा पत्रकारले सम्प्रेषण गर्ने समाचार सामग्री अनुगमनका लागि नेपाल पत्रकार महासंघको पहलमा तीन सदस्यीय अनुगमन समिति बनाइएको हो ।
पेशागत संगठनका प्रमुख तथा अग्रज पत्रकारको उपस्थितिमा आइतबार भएको महासंघको बैठकले बरिष्ठ पत्रकार कृष्ण आचार्य, महासंघका पुर्वअध्यक्षद्धय डम्बरसिं राई र दमन राई रहेको अनुगमन समिति गठन गरेको हो ।
निर्वाचनका समयमा सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्दै मर्यादित पत्रकारिताका लागि अनुगमन समिति गठन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।
समितिलाई निर्वाचनका समयमा पत्रकार आचार संहिताको पालना भए/नभएको, पत्रकार आचार संहिता तथा निर्वाचन आचार संहिता उल्लंघन भए/नभएको, सत्य, सन्तुलित र बिश्वसनीय समाचार सम्प्रेषण गरे/नगरेको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
निर्वाचनका समयमा कतिपय पत्रकारले अमुक पार्टीको पक्षमा समाचार सम्प्रेषण गर्ने तर अन्य पार्टीका विरुद्ध खेदो गरेर समाचार प्रस्तुत गर्नेगरेको घट्नालाई स्मरण गर्दै महासंघले त्यसलाई रोक्न अनुगमन समिति गठन गरेको जनाएको छ ।
यस्तै, महासंघले सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपका स्टाटस नलेख्न पत्रकारलाई सचेत गराएको छ । पछिल्लो समय केही पत्रकारबीच सामाजिक सञ्जालका माध्यमबाट एकअर्का बिरुद्ध अफवाह फैलाउँदै द्धन्द्ध सिर्जना गरिएको भन्दै महासंघले सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार र जवाफदेही बन्न पत्रकारलाई सचेत गराउने निर्णय गरेको हो ।