बुधवार, चैत्र २३ २०७८
नेपाल वाइड
खोटाङ, २३ चैत । वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् । १७ चैतदेखि १९ चैतसम्म काठ्माण्डौंमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुती वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको महासचिव बनेका हुन् ।
भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको केन्द्रिय कमिटि बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् । ४० प्रतिशत महिलाको प्रतिनिधित्व रहनेगरी वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी विस्तार गरिएको महासचिव आहुतिले बुधबार जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।
सुरुदेखि आहुतिकै नेतृत्वमा चल्दैआएको वैज्ञानिक समाजवादीले औपचारिक रुपमा पार्टीको बैचारिक काम सुरु भएको ३ वर्ष र संगठनात्मक काम सुरु गरेको करिब १५ महिनापछि प्रथम राष्ट्रिय भेला गरेको हो ।
वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीले महासचिव आहुति र प्रवक्ता रायमाझी रहेको १५ सदस्यीय केन्द्रिय सचिवालय कमिटि बनाएको छ । सचिवालयमा मदन अर्याल, राजकुमार हिङमाङ, सागर लिम्बु, धनकुमारी सुनार, राजेश्वरी सुवेदी, डिबी सर्वश्रेष्ठ, आशिष लिम्बु, बैद्यनाथ ठाकुर, बुद्धलक्ष्मी महर्जन, बिनोद सुनाम, लछुराम बिक, पुष्पकुमार भण्डारी र श्याम कुँवर छन् । यस्तै, सल्लाहकार समितिमा आरपी गुरागाई, डा. अजय यादव, मोहन साशंकर र डा( सञ्जय शाहलाई राखिएको छ ।
वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीले प्रदेश १ संयोजकमा आशिष लिम्बु, मधेश प्रदेशमा बैद्यनाथ ठाकुर, बागमती प्रदेशमा बुद्धलक्ष्मी महर्जन, गण्डकी प्रदेशमा बिनोद सोनाम, लुम्बिनी प्रदेशमा लछुराम बिक, कर्णाली प्रदेशमा पुष्पकुमार भण्डारी र सुदुरपश्चिम प्रदेश संयोजकमा श्याम कुँवरलाई जिम्मेवारी दिएको छ ।
भेलाले एमसीसी, निर्वाचन, भ्रष्टाचार लगायतका समसामयिक राजनीतिक परिस्थितिका विषयमा ८ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको सचिवालय सदस्य राजकुमार हिङमाङले बताए । पार्टीले निर्वाचन बहिस्कारदेखि हरेक स्थानीय तहमा ‘हिसाव खोज’ आन्दोलन अगाढि बढाउने निर्णय गरेको विज्ञाप्तीमा जनाइएको छ ।