बुधवार, चैत्र १६ २०७८
नेपाल वाइड
खोटाङ, १७ चैत । आगामी १९ चैतमा खोटाङको दिक्तेलबजारमा हुने एमालेको जनसभाको प्रचार–प्रसारमा साँस्कृतिक र्याली निकालिएको छ । पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभाको प्रचार–प्रसारमा राष्ट्रिय साँस्कृतिक महासंघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले एमाले नेताको सहभागीतामा बुधबार दिक्तेलबजारमा संयुक्त साँस्कृतिक र्याली निकालेको हो ।
पुष्पलाल स्मृति भवनबाट शुरु गरिएको साँस्कृतिक र्याली भवनगैरा, त्रिवेणीचोक हुँदै हाटडाँडा पुगेर रत्नपार्क जिरोप्वाइन्टमा पुगेर समापन गरिएको थियो ।
साँस्कृतिक र्यालीमा एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराई, एमाले केन्द्रिय सदस्य उषाकला राई, केन्द्रिय सदस्य रमेशकुमार पौडेल, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, दिक्तेल नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्य लगायत सहभागी भएका थिए ।
जनसभालाई बृहत बनाउनका लागि एमालेले ‘जन–जनमा एमाले, समृद्धिका लागि जिताउँछु एमाले’ भन्ने मुल नारासहित प्रचार–प्रसार अभियान सञ्चालन गरिरहेको छ । अध्यक्ष ओली हेलिकोप्टरमार्फत हलेसीमा आउने र हलेसीबाट गाडी चडेर दिक्तेलको जनसभालाई सम्बोधन गर्न पुग्ने एमालेले जनाएको छ ।