Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    पक्की पुल अभावमा स्थानीय सकसपूर्ण यात्रा

    चुनावी एजेण्डा बन्छ, पुल बन्दैन

    चुनावी एजेण्डा बन्छ, पुल बन्दैन

    खोटाङका गठबन्धन दलले बंशिलाघाटमा पक्की पुल निर्माण नभएसम्मका लागि फेरी वा बेलिब्रिज जडानको माग

    • बुधवार, चैत्र १६ २०७८

    • नेपाल वाइड


    चुनावी एजेण्डा बन्छ, पुल बन्दैन
    बंशिलाघाटस्थित सुनकोसीको झोलुंगे पुल ।

    खोटाङ, १६ चैत । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पक्की पुल अभावमा स्थानीय सकसपूर्ण यात्रा गर्न बाध्य छन् । सदियौंदेखि ढुंगा सञ्चालन हुँदै आएको बंशिलाघाटमा २०७५ सालमा झोलुङ्गे पुल बनेपनि मोटरेबल पुलको अभावमा खोटाङको दक्षिणी क्षेत्रका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

    झोलुंगे पुलले बंशिलाघाटको डुंगा विस्थापित गरे पनि गर्‍हौ सामान झोलुङ्गे पुलबाट तार्न सकस भइरहेको मौवाबोटेका वडासदस्य हरिबहादुर मगरले बताए । झोलुंगे पुल बन्नुअघि बंशिलाघाट नजिकै रहेको बुवाँजोरघाटमा काठको डुंगा चलाउने गरिन्थ्यो । “बंशिलाघाटमा पक्की पुलको आवश्यकता छ तर बन्ने छाँट छैन,” वडा सदस्य मगरले भने, “पुल नहुँदा भोजपुर वा फोक्सिङटारको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । झोलुंगे पुलबाट गर्‍हौ सामान वारपार गराउन सकिन्न ।”

    बंशिलाघाट खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सर्वसाधारण पुर्वी शहर बाहिरिने र भित्रिने प्रमुख नाका हो । बंशिलाघाटमा बनेको झोलुंगे पुलबाट स्थानीयको दैनिक बाक्लो ओहोर–दोहोर भइरहन्छ ।

    जन्तेढुंगा र बराहपोखरीका स्थानीयले उदयपुरको बेलटार, बसाहालगायतका बजारबाट बंशिलाघाट तारेर दैनिक उपभोग्य सामग्रीदेखि सिमेन्ट, रडलगायतका निर्माण सामग्री भित्र्याउने गरेका छन् । बंशिलाघाटको वारी र पारी कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोर–दोहोर गरिरहेको भए पनि मोटरेबल पुल निर्माण नहुँदा स्थानीय उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य बनेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्ट बताउँछन् ।

    बंशिलाघाट तराईबाट नुनदेखि सुन भित्र्याउने तथा सुन्तला, अलैंची, अम्लिसो, तेजपातलगायतका स्थानीय उपज निर्यात गर्ने द्धार हो । बंशिलाघाटबाट सुनकोसी पार गरेपछि उदयपुरको बेलटार हुँदै इटहरी, बिराटनगर, धरानलगायतका शहर पुगिन्छ । बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनेपनि मोटरेबल पुल निर्माणका लागि अझै सुरसार हुन नसकेको स्थानीयको गुनासो छ ।

    जन्तेढुंगा गाउँपालिकाको चिसापानीबजारबाट मौवाबोटे–पौवासेरा हुँदै बंशिलाघाट पुग्ने कच्ची सडक २०७२ सालमा बनेको हो । उदयपुरतर्फ २०७० सालअघि छुइलासम्म र २०७२ देखि छुईलाबाट बंशिलाघाटसम्म सडक विस्तार भएको थियो । बंशिलाघाटबाट पैदल अढाइ घण्टामा बेलटार झरिन्छ । बाईकमा बढिमा एक घण्टामै बेलटार पुगिन्छ ।

    बंशिलाघाट बाहेक खोटाङको दक्षिणी क्षेत्रको प्रमुख नाका चमेरेघाट (मौवाबोटे) र धाप्लाङघाट पनि हो । चमेरेघाटमा २०३६ सालदेखि झोलुंगे पुल सञ्चालनमा छ । झोलुंगे पुल रहेको धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको चरणमा छ । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको काम अलपत्रको अवस्थामा छ । चमेरेघाटबाट पनि बेलटार पुगिन्छ । धाप्लाङघाटबाट गाईघाट पुगिन्छ ।

    बेलिब्रिज राख्न मुख्यमन्त्रीलाई हारगुहार

    खोटाङका गठबन्धन दलले बंशिलाघाटमा पक्की पुल निर्माण नभएसम्मका लागि फेरी वा बेलिब्रिज जडानको माग गरेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ८ चैतमा माग–पत्र बुझाउँदै बंशिलाघाटमा यातायातका सवारी साधन ओहोर–दोहोर गर्न मिल्नेगरी फेरी वा बेलिब्रिज जडानको व्यवस्थाका लागि माग गरेका हुन् ।

    गठबन्धन दलले खोटाङ र उदयपुरको फोक्सिङटारमा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले सो स्थानमा राखिएको बेलिब्रिज बंशिलाघाटमा सार्ने व्यवस्थाका लागि आग्रह गरेका छन् । प्राकृतिक नाकाबन्दी तोडेर यातायातमा पहुँच पुर्‍याउनका लागि बंशिलाघाटमा फेरी वा बेलिब्रिज राखेर अस्थायी रुपमा आवत–जावत सहज गराउन माग गरिएको नेता बिष्टले बताए ।

    सम्बन्धित समाचार