शुक्रवार, चैत्र ११ २०७८
नेपाल वाइड
खोटाङ, ११ चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस नेतामाथि आक्रमण भएको बिरोधमा गठबन्धन दलले एकदिने बन्द गरेको छ । बुधबार राती ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्वद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले शुक्रबार गाउँपालिका बन्द गरेको हो ।
नेता बस्नेतमाथि सांघातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यपार–व्यवसाय, संघसंस्था एक दिनका लागि बन्द गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए । आक्रमणको विरोधमा गठबन्धन दलले चिसापानीबजारमा संयुक्त विरोधसभा गरेको छ ।
एमाले सम्वद्ध युवाले नियोजित रुपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषयमा विवाद निकालेर बस्नेतमाथि बोत्तल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेसले दावी गरेको छ ।
बोत्तल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । एमाले सम्वद्ध चासुम राई, मिलन राई लगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति बिष्टले बताए ।
जन्तेढुंगामा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमालेबाट निर्वाचित छन् । पाँच वर्षको अवधिमा एमालेले गरेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको गठबन्धन दलको भनाई छ ।
एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमार राईले भने जाँडरक्सी खानेक्रममा केही व्यक्ति बीचको विवादलाई राजनीतिक रंग दिएर एमालेको नाम जोडेर बदनाम गरेको बताए ।
गाउँपालिकाको प्रशासनिक भवन, चिसापानी ट्रस हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन गर्ने पुर्वनिर्धारित कार्यक्रममा अवरोध पु¥याउनका लागि गठबन्धन दलले बन्द आव्हान गरेको एमालेले दावी गरेको छ ।
यद्यपी, बन्दकैबीचमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले गाउँपालिकाको एक तले भवन भवन, चिसापानी हाटबजार, वडा कार्यालय काहुलेको भवन उद्घाटन तथा एमाले पालिका कमिटिको मदन स्मृति भवन शिलान्यास गरेका छन् । गठबन्धन दलले भने गाउँपालिकाको भवन निर्माणको काम सम्पन्न नहुँदै उद्घाटन गरिएको भन्दै विरोध जनाएका छन् ।