बिहिवार, चैत्र १० २०७८
नेपाल वाइड
खोटाङ, १० चैत । खोटाङको जन्तेढुंगा गाउँपालिकामा कांग्रेस नेतामाथि आक्रमण भएको बिरोधमा गठबन्धन दलले बन्द आव्हान गरेको छ । बुधबार राती ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्वद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गाउँपालिकामा बन्द आव्हान गरेको हो ।
गुण्डागर्दीशैलीमा आक्रमण गरिएको भन्दै गठबन्धन दलले विज्ञाप्तीमार्फत शुक्रबारका दिन गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था बाहेकका सम्पूर्ण कार्यालय, व्यपार–व्यवसाय, संघसंस्था बन्द गर्न आव्हान गरेको छ ।
एमाले सम्वद्ध युवाले नियोजित रुपमा एक सडक योजनाको कमिसन माग्दै राजनीतिक विषय निकालेर विवाद गर्दै बस्नेतमाथि बोत्तल प्रहार गरेर सख्त घाइते बनाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए । बोत्तल प्रहारबाट निधारमाथि सात टाँका लागेका बस्नेतको हाल न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
एमाले सम्वद्ध चासुम राई, मिलन राईलगायतले बस्नेतमाथि आक्रमण गरेको सभापति बिष्टले बताए । उनीहरुले एस्काभेटर चलाउँदै आएका कांग्रेस सम्वद्ध तारामान राईसँग सडक निर्माण योजनावापत १५ हजार कमिसन मागेको बिष्टको भनाई छ । एमाले र कांग्रेस सम्वद्ध युवा बसिरहेको ठाउँमा बस्नेत बोलाइएका थिए । स्थानीयका अनुसार उनीहरु मादक पदार्थ सेवन गरेर बसिरहेका थिए ।
एमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष रहेको गाउँपालिकामा पाँच वर्षको अवधिमा आफ्नो दलमा आवद्ध व्यक्तिलाई उपभोक्ता समितिमा राखेर कमिसन माग्ने, करारका कर्मचारीमार्फत घुसखोरी गरी भ्रष्टाचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधारणलाई आतंकित बनाउने काम भएको गठबन्धन दलको ठहर छ ।
एमालेको निरंकुशता, ज्यादती र सांघातिक आक्रमणका विरुद्ध बन्द आव्हान गरिएको विज्ञाप्तीमा जनाइएको छ । विरोधमा गठबन्धन दलले संयुक्त विरोधसभा गर्ने तयारी गरेको छ ।
नेकपा एमाले जन्तेढुंगा गाउँपालिका कमिटिले भने जाँड रक्सी खानेक्रममा भएको केही व्यक्तिको विवादमा आफ्नो पार्टीको नाम जोडेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले जन्तेढुंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमार राईले विज्ञाप्ती जारी गर्दै जाँड खानेक्रममा केही व्यक्तिबिचमा व्यक्तिगत विषयमा भएको विवादलाई राजनैतिक रंग दिएर एमालेप्रति घृणा र द्धेश फैलाउने षडयन्त्र रचिएको बताएका छन् ।
एमालेले अस्वस्थ र अमर्यादित गतिविधि गरेर एमालेलाई बदनाम गराउने कुचेष्टा नगर्न सचेत गराएको छ । विज्ञाप्तीमा एमालेको कार्यालय भवन शिलान्यास लगायतका कार्यक्रमलाई प्रभावित बनाउनेगरी बन्द हड्ताल गरेर नागरिकमा भय, त्रास र आतंक सिर्जना भएकोप्रति दुःख व्यक्त गरिएको छ ।
गठबन्धन दलले बन्द आव्हान गरेकोप्रति जन्तेढुंगा गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले निर्देशन जारी गर्दै शुक्रबार कुनै पनि सरकारी बिदा नपरेको र सरकारी कार्यालय बन्द नहुने स्पष्ट पारेको छ ।
गाउँपालिका अध्यक्ष शंखबहादुर राईले जारी गरेको निर्देशनमा कुनै पनि विद्यालय वा सरकारी कार्यालय बन्द गरी कर्मचारी तथा शिक्षक अनुपस्थित भएमा स्थानीय सरकार सञ्चालन एन २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । गाउँपालिकामा बन्द गर्ने र बन्द गर्न नदिने पक्षका मुठभेदको अवस्था सिर्जना हुनसक्ने खतरा बढेको छ ।