Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    प्रधानमन्त्री समक्ष कांग्रेस नेताको यस्तो माग

    प्रधानमन्त्री समक्ष कांग्रेस नेताको यस्तो माग


    • मंगलवार, चैत्र ८ २०७८

    • नेपाल वाइड


    प्रधानमन्त्री समक्ष कांग्रेस नेताको यस्तो माग
    साप्सु खोलामा निर्माण गरिएको पुल उद्घाटनका क्रममा सम्बोधन गर्नुहुदै प्रधानन्त्री शेर बहादुर देउवा ।

    खोटाङ, ८ चैत्र । तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए ।

    सत्ता आरोह अवरोधका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुबै पक्की पुल अलपत्र अवस्थामा छन् ।

    देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र परेको भन्दै चार वर्षपछि यथाशिघ्र सम्पन्न गराउने व्यवस्थाका लागि उनलाई हारगुहार मागिएको छ ।

    साप्सु खोलामा निर्माण गरिएको पुल उद्घाटनका क्रममा सोमबार आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा समक्ष कांग्रेस प्रदेश १ का महामन्त्री एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले अलपत्र पुलको यथाशिघ्र काम सम्पन्न गराउनका लागि लिखित माग राखेका छन् ।

    ‘स्मरण गराउन चाहन्छु, सम्माननीय प्रधानमन्त्रीकै बाहुलीबाट २०७४ सालमा दुई पुल शिलान्यास भएको थियो । त्यो अहिलेसम्म पनि सम्पन्न हुन सकिरहेको छैन,’ मागपत्रमा भनिएको छ, ‘त्यी पुलहरुलाई यथाशिघ्र सम्पन्न गराउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।’

    कांग्रेस प्रदेश महामन्त्री तथा गाउँपालिका अध्यक्ष राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आहालेबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रे गर्नका लागि आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गर्न, गाईघाट–दिक्तेल सगरमाथा राजमार्गको फोक्सिङटारमा १० वर्षअघि टेण्डर भएको पुललाई यथाशिघ्र सम्पन्न गर्ने वातावरण मिलाउन माग राखेका छन् ।

    यस्तै, म्याद गुज्रिसकेको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी सम्पन्न गर्ने वातावरण मिलाउन, खोटाङका विद्युतीकरण हुन बाँकी क्षेत्रमा यथाशिघ्र विद्युतीकरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

    कांग्रेस प्रदेश महामन्त्री तथा गाउँपालिका अध्यक्ष राईले हालसम्म खोटाङका नागरिकले अहिलेसम्म सरकारको अनुभूती गर्न नपाएको प्रधानमन्त्रीलाई गुनासो सुनाएका छन् ।

    ‘देशमा धेरै प्रकारका सरकार बन्यो तर खोटाङ जिल्लाको लागि बनेन । खोटाङ्गे नागरिकले त्यसको अनुभूतिगर्न पाएनन् । सरकार र व्यवस्था बदलिइरह्यो तर खोटाङका नागरिकको दुःखसुख कहिल्यै बदलिएन,’ उनले भने, ‘जिल्लाका नागरिक अहिले पनि दुःखको जीवन जिउन बाध्य छन् । सुख केहो थाहा छैन । विकास नहुँदा सडक, बिजुलीवत्ती, अस्पताल र शिक्षाको खोजी गर्दै वर्षेनी ठूलो संख्यामा हाम्रा नागरिक बसाई जान बाध्य छन् ।’

    सम्बन्धित समाचार