Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत : मुख्यमन्त्री राई

    महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत : मुख्यमन्त्री राई


    • मंगलवार, फाल्गुण २४ २०७८

    • नेपाल वाइड


    महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत : मुख्यमन्त्री राई
    अन्तराष्ट्रिय दिवशका अबशरमा र्‍यालीमा सहभागी हुदै मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक विकास मन्त्री राजन राईलगायत ।

    विराटनगर, २४ फागुन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई धर्तीमै आउन नदिने काम हुनु दुखत भएको बताउनु भएको छ । गर्भावस्थामै पुरुष छ की महिला भनेर भ्रुण हत्या गर्ने काम अहिले पनि भईरहेको उहाँले बताउनुभयो ।

    ११२ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो ।

    मुख्यमन्त्री राईले भन्नुभयो,‘ महिलाले जन्मेपछि दुःख पाउने हैन, जन्मनै नदिने काम भईरहेको छ ।’ उहाँले सम्पतिको अधिकारबाट महिलाहरु अझैपनि बञ्चितिकरणमा परेको बताउनुभयो ।

    महिलाहरुलाई पुरुष सरह बराबरीको अवस्थामा पुर्‍याउनु आवस्यक भएकोमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ ऐन कानुन परिवर्तन गरेर र प्रथा प्रचलन हटाएर महिलाहरुलाई पुरुष सरह बनाउनु पर्छ ।’

    स्वास्थ्यमन्त्री जयराम यादवले महिलाहरुले आफ्नो अधिकार मागेर प्राप्त गर्न नसके खोसेर भएपनि लिनुपर्ने बताउनुभयो । उपसभामुख सरस्वती पोखरेलले संविधान, कानुन महिला मैत्री भएको बताउनुभयो ।

    संविधान, कानुन महिला मैत्री हुँदापनि समाज महिला मैत्री हुन नसकेको उहाँले बताउनुभयो । समाजको व्यवहार महिलामैत्री नहुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको उहाँले बताउनुभयो ।

    सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले महिलामाथि हुने विभेद अन्त्यका लागि महिला मैत्री समाज निर्माणका लागि लाग्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव कृष्णप्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि विराटनगर देवकोटा चौकबाट प्रभातफेरी निकालिएको थियो ।

    प्रहरी ब्याण्डवाजा र साँस्कृतिक झाँकी सहित र्‍याली निकालिएको थियो । र्‍याली जलजला मोडहुँदै बजार परिक्रमा गरि आदर्श विद्यालयमा आयोजना गरिएको मञ्चको कार्यक्रममा सहभागि भएको थियो ।

    यसैवीच आदर्श विद्यालयमै आयोजना गरिएको खुल्ला रक्तदानमा १७ पिन्ट रगत संकलन भएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताउनुभयो ।

    उहाँका अनुसार रक्तदान कार्यक्रममा १२ महिला सहित १७ जनाले रक्तदान गरेका थिए । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर स्थित मानवसेवा आश्रममा आश्रितहरुलाई फलफूल वितरण गरिएको छ ।

    सम्बन्धित समाचार