Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    खोटाङ : दुरुपयोग भइरहेको एम्बूलेन्स प्रहरीको नियन्त्रणमा

    खोटाङ : दुरुपयोग भइरहेको एम्बूलेन्स प्रहरीको नियन्त्रणमा


    • बुधवार, फाल्गुण ११ २०७८

    • नेपाल वाइड


    खोटाङ  :  दुरुपयोग भइरहेको एम्बूलेन्स प्रहरीको नियन्त्रणमा
    सांकेतिक तस्बिर ।

    खोटाङ, ११ फागुन । खोटाङमा बिरामी बोक्ने एम्बूलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स १ च १२४२ नम्बरको एम्बूलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    एम्बूलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका आधारमा नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

    भारतीय भूतपूर्व सैनिक संघको नाममा रहेको सो एम्बूलेन्स दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रेमचन्द्र राईले मासिक १५ हजार भाडामा चलाउँदै आएका थिए । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित प्रहरी चौकीले राईलाई मंगलबार एम्बूलेन्स सहित नियन्त्रणमा लिएको हो । यस बारेमा थप अनुसन्धान थालिएको डिएसपी लम्सालले बताए ।

    ‘बिरामी बोक्नु पर्ने एम्बूलेन्सले अरु प्यासेञ्जर बोकेर गाउँमा गएको देखिन्छ । जुन प्रयोजनका लागि एम्बूलेन्स प्रयोग गर्नुपर्ने हो त्यो प्रयोजनमा प्रयोग भएको पाइएन ।

    त्यस कारणले कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ,’ डिएसपी लम्सालले भने, ‘अप्ठ्यारोमा परेका बिरामी रेस्क्यू गर्नका लागि एम्बूलेन्सले सहुलियत पाएको हुन्छ । बिरामी नबोक्ने, अरु प्यासेञ्जर बोकेर हिँड्ने गर्नु त भएन । जे प्रयोजनका लागि ल्याइएको हो त्यो प्रयोजन विहिन हिसावले चलाएकाले कारबाहीका लागि पठाइएको हो ।’

    गाउँघरमा मट्टिमाला, पुलिक लगायतका पुराना चिजविज खोज्दै हिँड्ने व्यक्तिलाई बोक्नका लागि सो एम्बूलेन्स प्रयोग गरेको जनाइएको छ । भारतीय राजदुताबासले जिल्लाका विरामीको सहजताका लागि भारतीय भूतपूर्व सैनिक संघलाई सन् २०१५ मा सो एम्बुलेन्स दिएको थियो ।

    सम्बन्धित समाचार