आइतवार, फाल्गुण ८ २०७८
नेपाल वाइड
खोटाङ, ८ फागुन । आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको विचल्नी भएको छ ।
किचनका रुपमा प्रयोग हुँदैआएको कटेरोबाट सुरु भएको आगोले घर र घरमा भएका सवैथोक जल्दा ८ जनाको परिवारको विचल्नी भएको हो । शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउनेक्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरु भएको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनकुमार राईले बताए ।
आगलागीमा सर्वस्व गुमाएका राई परिवार हाल रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । चिसोका कारण परिवारका वृद्धवृद्धा र वालबच्चा समस्यामा परेका छन् ।
आगलागीबाट विस्थापितलाई वडा कार्यालयकातर्फबाट खाद्यान्न लगायतका वन्दोवस्तीका सामान उपलव्ध गराइएको कार्यबाहक वडाध्यक्ष राईले बताए । विस्थापितको घर निर्माणका लागि छिमेकीले आर्थिक र भौतिक सहयोग जुटाउने अभियान सुरु गरिएको छ ।